दाङ । दाङको घोराही कारागारबाट फरार कैदी नाईकेलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
घोराही कारागारबाट उपचारको बाहानामा फरार भएका कैदी नाईके राजपुर गाउँपालीका ३ बस्ने २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनु भयो ।
कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरीरहेका परियार गत पुस ८ गते घोराही बजारको एक होटेलबाट फरार भएका थिए । परियार घोराही बजारको बिपिचोक स्थित रहेको थकाली भान्सा घर एण्ड लजमा पुगेर खाजा खाने क्रममा प्रहरी जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिएर फरार भएका थिए ।
यस्तै कैदी परियार फरार भएपछि छानबिन तथा खोजतलास समिति गठन गरीएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले तालुक प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत भारतिय प्रहरी संगको समन्वयमा खोजी कार्य गर्ने क्रममा सोमवार नेपाल भारतको सिमाक्षेत्र बाँके नेपालगंज १५ जमुनाह नाकाबाट पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिनु भयो । कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय भएकोमा परियारले हाल सम्म ७ वर्ष कैद भुक्तान गरी सकेका छन् ।
त्यस्तै कारागारमा पहिला चौकीदार हुदै नाईके समेत भएका परियार फरार भई पक्राउ परेपछि कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार थप कारवाही हुने भएको छ । परियारलाई बाँकी कैदको डेढी बढाई कैद सजायको ब्यवस्था हुने डिएसपी रिजालले जानकारी दिनु भयो । कैदी परियार फरार भएपछि कारागार प्रमुख,कारागार सुरक्षा प्रमुख र प्रहरी जवान धन बहादुर चौधरी अनुसन्धानमा तानिएका थिए । तर कारागार प्रमुख र सुरक्षा प्रमुखलाई सामान्य कारवाही गरी छोडिएको छ भने प्रहरी जवान र दुई महिला पुर्वपक्षका लागि कारागार चलान भएको प्रहरी जनाएको छ ।