दाङ । देउखुरीको लमही स्थित एक कपडा गोदाममा आगलागी भएको छ । आगलागीबाट करिब २५ लाख बराबरको कपडा पूर्णरुपमा क्षति भएको छ ।
लमही नगरपालिका वडा नम्बर ५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा सोमबार अपरान्ह १:३० बजेको समयमा अचानक बिद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
त्यस्तै कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठामा आगलागी भएको प्रहरी जनाएको छ । आगलागी भएको खबर पाए लगत्तै लमही नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीय घटना स्थल पुगेका थिए ।
यसैगरी समयमै आगोलाई नियन्त्रण लिंदा वरपरका घरमा क्षति हुनबाट जोगिएको स्थानीय गणेश चौधरीले बताए । गोदाममा राखेका सबै कपडा जलेर नष्ट भएको र अन्य मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।