काठमाडौं । कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको हो । आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
त्यस्तै बोर्डले फाराम शुल्क ४ सय रुपैंया तोकेको छ भने फाराम बुझाउन नसक्ने विद्यार्थीको लागि दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सक्ने बताएको छ । त्यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्ने छ ।
कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह, विषय कोड अनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ । रजिष्ट्रेशन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।