
Sgp
Rgp
ksb
Lnp
Rgp
lnp
Pbu
Dbs
Dus
Rgp
Ggp
Usb
Jns
Asb
Lks
Ggp
Rgp


काठमाडौं । काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीको संख्या फेरि बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासका अनुसार पछिल्लो पाँच दिनयता अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमितको संख्या बढ्दो रहेको बताए । ‘दैनिक १३/१४ जनाको संख्यामा नयाँ केस आउने गरेका छन्’ डा दासले भने, ‘नर्मल कोभिड बेडमा भन्दा आईसीयूमा आउने बिरामीको संख्या बढी छ ।’
दोस्रो लहर उत्कर्षमा पुगेर ओरालो लाग्दा अस्पतालमा उपचाररत संक्रमितको संख्या ७५ मा झरेको थियो । अहिले बढेर ९५ जना पुगेको उनले बताए । उनका अनुसार अस्पतालको आईसीयूमा २२ र भेन्टिलेटरमा १७ जना संक्रमित उपचाररत छन् ।
पाटन अस्पतालमा पनि पछिल्लो एक सातायता संक्रमितको संख्या बढ्दो रहेको अस्पतालका कोभिड फोकल पर्सन डा विमल पाण्डेले बताए । ‘५/७ दिन जति भयो होला । गम्भीर प्रकृतिका बिरामी आउने क्रम बढेको छ’ डा. पाण्डेले भने, ‘अहिले आईसीयूमा २५, भेन्टिलेटरमा १३ जनासहित १३० जना संक्रमित उपचाररत छन् ।’
बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा पनि तुलनात्मक रुपमा केही संख्यामा संक्रमितको संख्या बढेको अस्पतालका कोभिड फोकल पर्सन डा. प्रवीण नेपालले बताए । ‘एक साताअघि अस्पतालमा उपचाररत संक्रमितको संख्या ४८ मा झरेको थियो’ डा. नेपालले भने, ‘तर पछिल्लो समय क्रमशः संक्रमितको संख्या थपिँदै ६० पुगेको छ । यो तथ्यांकले उपचार गराउन आउने संक्रमितको संख्या क्रमशः बढ्दै गएको देखाउँछ ।’
वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्की पनि आईसीयूमा आउने बिरामीको संख्या केही बढेको बताउँछन् । ‘केही समययता अस्पतालमा ८० को हाराहारीमा संक्रमित उपचाररत छन्,’ डा कार्कीले भने, ‘केही दिन यता आईसीयूमा राखेर उपचार गराउनुपर्ने बिरामी निजी अस्पतालबाट रिफर भएर आउने बढेको छ ।’ यसले आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप पहिले जस्तै रहेको उनको भनाइ छ ।
भक्तपुर अस्पतालमा एक साताअघि १३ जना संक्रमित उपचाररत थिए । तर अहिले आईसीयूमा ५ जना र एचडीयूमा १२ जना गरी १७ जना संक्रमित उपचाररत रहेको अस्पतालका फिजिसियन डा सुनिल ढुँगेलले बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या स्थिर रहेको अस्पतालका निर्देशक डा. अनुप वास्तोलाले बताए ।
अस्पतालमा संक्रमितको संख्या किन बढिरहेको छ ?
पछिल्लो तीन साता यता कोरोना संक्रमण केही प्रतिशतले वृद्धि भएको छ । असार पहिलो साता कोरोना संक्रमण दर २०.९६ प्रतिशत रहेकोमा दोस्रो साता २१.३३ र तेस्रो साता २२.९९ प्रतिशतमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११,५२७ नमुना (आरटी पीसीआर र एन्टिजेन) परीक्षण गर्दा २,६२२ मा संक्रमण पुष्टि भएको छ । प्रतिशतको हिसाबमा संक्रमण दर झण्डै २३ प्रतिशत हो ।
पछिल्लो तीन साताको तथ्यांकलाई नियाल्दा कोरोना संक्रमण दर बढ्दो छ । असार पहिलो साता (असार १–७ गते) ८५,३५९ नमूना परीक्षण गर्दा १७,८८८ जनामा संक्रमण पुष्टि भएको छ ।
असार दोस्रो साता (असार ८–१४ गते) ८६८९६ नमूना परीक्षण गर्दा १८५४३ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । असारको तेस्रो साता (असार १५–२१ गते) ७४६८९ नमुना परीक्षण गर्दा १७१४० जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको तीन साताको तथ्यांकलाई मूल्यांकन गर्दा कोरोना संक्रमण प्रत्येक साता केही प्रतिशत बढेको देखाउँछ ।
सरकारले मंगलबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै निजी तथा सार्वजनिक सवारी साधन चल्ने दिने निर्णय गरेको छ । यसले भीडभाड बढेर संक्रमण बढेको हुनसक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
पछिल्लो समय कोरोना संक्रमण दर २० प्रतिशतभन्दा माथि नै रहेका कारण पनि अस्पतालमा आउने संक्रमितको संख्यामा खासै भिन्नता नआएको हुन सक्ने डा. पाण्डे बताउँछन् । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै भीडभाड बढ्न जाँदा संक्रमण बढेको हुन सक्ने उनको भनाइ छ ।
सरकारले निजीमा उपचार गराउँदा उपचार खर्च नबेहोर्ने भएपछि पनि सरकारीमा बिरामीको चाप बढेको हुन सक्ने डा. दास बताउँछन् । ‘सरकारले निजीमा उपचाररत संक्रमितको खर्च अब नबेहोर्ने निर्णय गरेको छ’ शिक्षण अस्पतालका डा. दासले भने, ‘त्यही निर्णयका कारण पनि मानिसहरु सरकारीमा उपचार गराउन आउँदा संख्या बढेको हुनसक्छ ।’
दोस्रो लहर उत्कर्षमा पुगेको बेला सरकारले निजी अस्पतालसँग सेवा सम्झौता गरी संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरेको थियो । तर अहिले यो व्यवस्था खारेज गर्दै सरकारी अस्पतालमा मात्रै संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ । साभार अनलाइन खबर
