
Sdc
Asbus
Rgp
Ksbus
Ggp
Ggp
Ksbus
Lnp
Msbus

दार्चुला । अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा माथिबाट पहिरो खस्दा नदीको बहाव आधा अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम नरोकिएकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले वर्षा तथा बाढीका कारण सम्भावित जोखिम बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा रहन र विपद्जन्य घटना भएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरेको छ।
विपद्का समयमा आवश्यक सहयोगका लागि प्रशासनले विभिन्न सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न ११३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ।
त्यस्तै, आपत्कालीन अवस्थाका लागि प्रमुख जिल्ला अधिकारी ९८५८७२७७७८, सहायक प्रमुख जिल्ला अधिकारी ९८५८७२४६६६, जिल्ला प्रहरी कार्यालयका प्रमुख ९८५१२९४९११ तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गणका प्रमुख ९८६०३४९१७६ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा जारी सूचनामा चौलानी नदीमा पहिरोका कारण जोखिम बढेकाले कुनै घटना भएमा वा उद्धार आवश्यक परेमा तत्काल तोकिएका नम्बरमा जानकारी गराउन आग्रह गरिएको छ।
