
Lnp
Asbus
Rgp
Sdc
Ksbus
Msbus
Ksbus
Ggp
Ggp

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार २९३ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लासहित भारतमा समेत शव फेला परेका हुन्।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ शव फेला परेका छन्। भारतमा भेटिएका १८ शव भने नवलपरासीपश्चिममा बुझाइएको प्रहरीले जनाएको छ।
बाढीमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। उनीहरूमध्ये एक जनाको टिचिङ अस्पताल र अर्का एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।
फेला परेका शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया जारी छ। प्रहरीले डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरुष र ४५३ जनाको पहिचान नखुलेका गरी एक हजार ३० शव व्यवस्थापन गरिसकेको जनाएको छ।
शव पहिचानका लागि मृतकका एक हजार २६० तथा आफन्तका ८४६ गरी कुल दुई हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन बाँकी एक हजार २६३ शवको विवरणसमेत नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत वितरण र शव व्यवस्थापनका लागि प्रहरीले सात हजार ९१२ कर्मचारी परिचालन गरेको छ। बाढीपछि बेपत्ता भएका चार हजार ८९८ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।
यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा तीन हजार ६५५ जनालाई राखिएको छ।
प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा विभिन्न सरकारी निकायसँगको समन्वयमा उद्धार र खोजीलाई निरन्तरता दिएको छ। बाढीका कारण अवरुद्ध भएका सडक तथा अन्य बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।
