
Rgp
Msbus
Asbus
Ggp
Ggp
Ksbus
Sdc
Lnp
Ksbus

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपदमा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह अद्यावधिक गरेको विवरण अनुसार यस महाविपद्का कारण ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति र नोक्सानी भएको प्रारम्भिक अनुमान छ । शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।
कुन जिल्लामा कति शव फेला परे ?
शुक्रबार मध्याह्नसम्म फेला परेका १,२८७ शवमध्ये सबैभन्दा बढी चितवनमा भेटिएका छन्। फेला परेका शवमध्ये हालसम्म जम्मा ९६ जनाको मात्र सनाखत हुन सकेको छ। जिल्लागत विवरण यसप्रकार छ:
चितवन: ३५९ जना
नवलपरासी (पूर्व): २१९ जना
नवलपरासी (पश्चिम): २१२ जना
नुवाकोट: १८४ जना
रसुवा: १४० जना
गोरखा: ७२ जना
धादिङ: ६३ जना
तनहुँ: ३८ जना
घाइते, बेपत्ता र उद्धारको अवस्था
प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्, जसमा ५८३ जना विदेशी नागरिक रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा रसुवाका २ हजार १३० र नुवाकोटका २ हजार ३४० जना रहेका छन् । सम्पर्कविहीनको सूचीमा पहिचान नभएका शवहरू पनि समावेश भएको हुनसक्ने अनुमान प्राधिकरणको छ ।
विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन् भने उनीहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्य कर्मीमार्फत उपचार भइरहेको छ । उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्याएका छन्, जसमध्ये ३०३ जना विदेशी नागरिक छन् ।
शुक्रबार मात्रै त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ । उद्धार तथा राहतका लागि नेपाली सेनाले ८३० पटक र निजी क्षेत्रले १२९ पटक हेलिकप्टर उडान गरेका छन् ।
भौतिक क्षति विवरण
प्रारम्भिक आकलनअनुसार यस विपद्ले ठूलो भौतिक क्षति निम्त्याएको छ: ७ हजार ५ सय ७० निजी घरहरूमा क्षति पुगेको छ । ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ । यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
सुरक्षाकर्मी परिचालन र राहत वितरण
विपद व्यवस्थापनका लागि देशभर कुल २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् । प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिँदै काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैर-खाद्यान्न सामग्री पठाइएको छ । सशस्त्र प्रहरीले १६३ हवाई उडान मार्फत नुवाकोट र रसुवामा राहत पुर्याएको छ ।
सरकारले तत्कालको राहतस्वरूप रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । बाढीका कारण अवरुद्ध सञ्चार सेवाहरू क्रमशः सुचारु हुन थालेका छन् । नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका प्राधिकरणले जनाएको छ ।
