
Msbus
Ksbus
Sdc
Ksbus
Rgp
Ggp
Ggp
Lnp
Asbus

दाङ । पछिल्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको गुनासो भइरहेका बेला देउखुरीका नवउदियमान कलाकारहरूको विशेष अभिनय रहेको मौलिक तीज गीत ‘तीजैमा दिदी’ सार्वजनिक भएको छ ।
देउखुरीका कलाकार श्रीधर कडेल, सिर्जना खड्का र सन्तोषकुमार गुप्ताको विशेष अभिनय रहेको ‘तीजैमा दिदी’ बुधबार दिउँसो ५ बजे गायक श्रीधर कडेलको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
परिवार,दिदी–भाइबीचको आत्मीय सम्बन्ध र तीजमा माइतीघर फर्किने नेपाली मौलिक परम्परालाई कथावस्तु बनाइएको गीतले तीजको सांस्कृतिक महत्वलाई समेत उजागर गर्न खोजेको छ । गीतमा बुवा-आमाले जसरी पनि दिदीलाई माइतीमा ल्याउन आग्रह गरेपछि भाइ दिदीलाई लिन जाने र भिनाजुलाई समेत फकाएर दिदीलाई माइती ल्याउन सफल भएको कथा प्रस्तुत गरिएको छ ।
गीतमा श्रीधर कडेल, रेशु राई र मनोहर भण्डारीको स्वर रहेको छ । गीतका शब्द मनोहर भण्डारीले लेखेका हुन् भने संगीत श्रीधर कडेलको रहेको छ । त्यस्तै संगीत संयोजन तथा एरेन्ज रमेश सेन्चुरीले गरेका छन् । गीतको भिडियोमा प्रमुख कलाकारका रूपमा श्रीधर कडेल, सिर्जना खड्का र सन्तोषकुमार गुप्ताले अभिनय गरेका छन् । अन्य कलाकारका रुपमा हिराकुमारी वली र भागीराम वली रहेका छन् भने बाल कलाकार श्रीशु कडेलको समेत अभिनय रहेको छ ।
त्यस्तै,गीतको निर्देशन पोषण भण्डारीले गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन हमार म्युजिक पहुराका सञ्चालक शिशिर चौधरीले गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाशमान श्रेष्ठ र सन्तोष सुनामले गरेका छन् भने शृंगारतर्फ नम्रता चौधरीको भूमिका रहेको छ ।
गीतको रेकर्डिङ म्युजिक सिटी काठमाडौं र गुड भ्वाइस, लमही दाङमा गरिएको हो । भिडियोको छायांकन भने बाँकेको राप्ती सोनारी गाउँपालिका–९, ढकेरी गाउँमा गरिएको निर्माण पक्षले जनाएको छ । तीज पर्वको मौलिकता, पारिवारिक सम्बन्ध र दिदी–भाइबीचको प्रेमलाई केन्द्रमा राखिएको ‘तीजैमा दिदी’ले दर्शक–श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ । नयाँ पुस्ताका कलाकारहरुको अभिनय,मौलिक कथावस्तु र तीजको परम्परागत भावनालाई समेटिएको यो गीत यस वर्षको तीजमा दर्शक–श्रोताका लागि नयाँ स्वाद बन्न सक्ने देखिन्छ ।
