
Ggp
Ksbus
Sdc
Msbus
Rgp
Ksbus
Asbus
Lnp
Ggp


काठमाडौँ । नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण जनजीवन गम्भीर रुपमा प्रभावित भएपछि सरकारले देशभरका सबै विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ ।
विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका सम्पूर्ण परीक्षाहरु स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् । साथै, भदौ १२ गते आयोजित परीक्षामा विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि अनुकूल समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
त्यस्तै,मन्त्री पोखरेलद्वारा जारी निर्देशनमा विश्वविद्यालयहरुलाई परीक्षा स्थगित गरी संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न र अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार तथा सभा–सम्मेलन जस्ता सामूहिक कार्यक्रमहरू नगर्न भनिएको छ । कठिन परिस्थितिमा विद्यार्थी र अभिभावकको सुरक्षा तथा हितलाई सर्वोच्च प्राथमिकता दिन जोड दिँदै विपद्बाट प्रभावित क्षेत्रका विद्यार्थीहरूसँग शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय र आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ ।
यसैगरी,विपदका कारण विद्यार्थीहरुमा पर्न सक्ने मानसिक तनावलाई ध्यानमा राखी प्रभावित विद्यार्थी तथा अभिभावकका लागि मनोसामाजिक परामर्शको प्रबन्ध मिलाउन समेत निर्देशन दिइएको छ । प्राकृतिक विपदले अध्ययनमा पारेको असरलाई न्यूनीकरण गर्दै विद्यार्थीको शैक्षिक निरन्तरताका लागि आवश्यक कदम चाल्न र वर्तमान संवेदनशील अवस्थालाई गम्भीरताका साथ लिई यी निर्णयहरू तत्काल कार्यान्वयनमा ल्याउन मन्त्रालयले सबै विश्वविद्यालयहरुलाई आह्वान गरेको छ ।
