
Amb
Sdc
ksbus


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार आज आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमबाट ३ सय १९ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
राप्ती गाउँपालिकाको आयोजना,लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीसार स्वास्थ्य परामर्श, बुटवलको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा २ सय २३ महिला र ९६ पुरुषले स्वास्थ्य परीक्षण,परामर्श तथा आवश्यक उपचार सेवा लिएका हुन् ।
शिविरमा भिडियो एक्सरे सेवा २९ जना, एक्सरे सेवा ६४ जना र प्रयोगशाला सेवा ७२ जनालाई प्रदान गरिएको अस्पतालले जनाएको छ । आवश्यक औषधि समेत वितरण गरिएको थियो । शिविरमा हाडजोर्नी तथा नशा रोग,जनरल सर्जरी,युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवासम्बन्धी विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।
राप्ती गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनका अनुसार हाडजोर्नी,नशा, मिर्गौला तथा पिसाबसम्बन्धी समस्या भएका बिरामीलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण र परामर्श लिन सहज भएको छ । यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए ।
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.राजकृष्ण श्रेष्ठ,जनरल सर्जन डा.नवीन श्रेष्ठ, युरोसर्जन डा.सगुन थापा, रेडियोलोजिस्ट डा. तृष्णा श्रेष्ठ तथा एनेस्थेसियोलोजिस्ट डा.बिमेश शाक्यले सेवा प्रदान गरेका थिए ।
