
Sdc
ksbus
Amb


बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनामा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
डीएसपी खनाल इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख रहेका बेला गत भदौमा कालीकोट निवासी ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको हिरासतमा रहेको अवस्थामा मृत्यु भएको थियो । सिंह ज्यान मार्ने मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए । पक्राउ परेको तीन दिनमै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
सिंहका परिवारले प्रहरी हिरासतमा राख्दा यातना दिइएका कारण उनको मृत्यु भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका थिए । तर, त्यस समयमा घटनाको छानबिन अघि बढ्न सकेको थिएन ।
लामो समयपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका तत्कालीन प्रमुख एसएसपी सन्तोष राठौरको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी घटनाको अनुसन्धान गरिएको हो । हाल एसएसपी राठौरको लुम्बिनी प्रदेशबाट प्रदेश प्रहरी कार्यालय कर्णालीमा सरुवा भइसकेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार, छानबिनका क्रममा प्रहरीको कमजोरीका कारण सिंहको मृत्यु भएको निष्कर्ष निकालिएको छ । त्यसपछि तत्कालीन डीएसपी खनालसहित हिरासत कक्षमा कार्यरत प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको हो ।
एक प्रहरी अधिकारीका अनुसार,हिरासतमा राखिएको व्यक्तिको मृत्यु हुनु आफैँमा गम्भीर विषय भएकाले त्यसको जिम्मेवारी सम्बन्धित प्रहरी अधिकारीले लिनुपर्ने हुन्छ । “हिरासतमा राखिएको व्यक्तिको मृत्यु हुनु आफैँमा कमजोरी हो । अझ हिरासत कक्षमै मृत्यु हुँदा त्यसको जिम्मेवारी सम्बन्धित प्रहरी अधिकारीले लिनुपर्छ । प्रहरीको कमजोरी देखिएपछि विभागीय कारबाहीका लागि सिफारिस गरिएको हो,” ती अधिकारीले भने ।
लुम्बिनी प्रदेश प्रहरीले छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ । प्रतिवेदन प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी खनालमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ ।
सिंहको मृत्यु प्रकरण विवादमा आएपछि डीएसपी खनाललाई गत असोजमै इलाका प्रहरी कार्यालय कोहलपुरबाट तानिएको थियो । त्यसपछि उनलाई अपराध अनुसन्धान विद्यालय अन्तर्गत प्रशिक्षण व्यवस्थापन शाखा,महाराजगञ्ज काठमाडौंमा सरुवा गरिएको थियो ।
कोहलपुरले पहिलो पटक महिला डिएसपी पाएको लक्ष्मी खनालको नेतृत्व भने सफल रहेन । सिंहको मृत्यु प्रकरण विवादमा आएपछि डीएसपी खनाल करीब ६ महिनामा कोहलपुरबाट तानिएकी थीईन ।बाँकेटुडे
