
Amb
Sdc
ksbus


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/ ०८३ को तेस्रो चौमासिकसम्म भएका विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको छ ।
बिहीबार गाउँपालिकाको सभाहल,मसुरियामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य,कृषि,सामाजिक सुरक्षा, प्रशासनिक सेवा तथा अन्य कार्यक्रमको कार्यान्वयन अवस्थाबारे जानकारी गराएको हो ।
कार्यक्रममा सहभागी स्थानीयले विकास निर्माणको गुणस्तर, योजनाको प्रभावकारिता, बजेट खर्च, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी प्राथमिकताका विषयमा खुलेर जिज्ञासा र सुझाव राखेका थिए । शिक्षा,स्वास्थ्य,कृषि, सडक, सिँचाइ, विद्युत्, न्यायिक सेवा, सुशासन तथा गाउँपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी प्रश्नसमेत उठाइएको थियो ।
सहभागीले उठाएका प्रश्न, गुनासा र सुझावको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,वडा अध्यक्ष तथा सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सीमित स्रोतसाधनका बाबजुद नागरिकको आवश्यकता सम्बोधन गर्ने गरी गाउँपालिका अघि बढिरहेको बताउँदै प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विकासका कामलाई थप प्रभावकारी बनाइने उल्लेख गरे । उनले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणापत्रका करिब ८० प्रतिशत प्रतिबद्धता कार्यान्वयन भइसकेको दाबी गर्दै बाँकी काम पनि चरणबद्ध रूपमा पूरा गरिने बताए ।
राप्तीवासीबाट प्राप्त हुने रचनात्मक सुझाव, सल्लाह र खबरदारीले स्थानीय सरकारलाई अझ उत्तरदायी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । ‘जनप्रतिनिधि जनताका सेवक हुन्,’ अध्यक्ष विष्टले भने, ‘त्यसैले नागरिकका समस्या सुन्ने र समाधानका लागि बस्तीमै पुग्ने अभ्यासलाई निरन्तरता दिएका छौं ।’
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सेवा प्रवाहलाई थप सहज, सुलभ र नागरिकमैत्री बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए । पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम भइरहेको उनले जानकारी दिए ।
त्यस्तै,गाउँपालिकाका अनुसार सेवाप्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष संवाद गराई सार्वजनिक सेवाप्रति उत्तरदायित्व बढाउने उद्देश्यले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै आइएको छ ।
