
snmbs
Mbf
dpm
Ges
Amb
Dpm
Gesld
Snmbs
Dbc
rgs
Sdc
Pbu
Snmbs


दाङ । मानिसको सफलताको मापन उसले कति धन सम्पत्ति कमायो भन्ने आधारमा मात्र हुँदैन । आफ्नो सीप, मेहनत र समर्पणबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने व्यक्ति नै वास्तविक अर्थमा सफल हुन्छ । यस्तै प्रेरणादायी व्यक्तित्व हुन् दाङको घोराही निवासी ३१ वर्षीय सुशील कुमार गुप्ता, जसले आफ्नो जीवन संगीतलाई समर्पित गर्दै हजारौं बालबालिका र युवाको भविष्य उज्यालो बनाउने अभियानमा निरन्तर लागिरहेका छन् ।
उनले विगत १६ वर्षदेखि “Sai Grace Music Academy” सञ्चालन गर्दै संगीत शिक्षाको माध्यमबाट नयाँ पुस्तालाई सिर्जनशील,अनुशासित र आत्मनिर्भर बनाउन उल्लेखनीय योगदान दिइरहेका छन् । उनको एकेडेमीबाट धेरै विद्यार्थीले गायन तथा विभिन्न वाद्यवादन सिकेर राष्ट्रिय तथा स्थानीय स्तरका सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् ।
अभावमै बित्यो बाल्यकाल,तर सपना कहिल्यै मर्न दिएनन्
सुशील कुमार गुप्ताको बाल्यकाल आर्थिक अभाव र कठिनाइबीच बित्यो । परिवारको आर्थिक अवस्था कमजोर थियो । धेरैका लागि यस्ता परिस्थितिले सपना अधुरै छोड्ने कारण बन्छन्,तर उनका लागि त्यही संघर्ष सफलताको ऊर्जा बन्यो । सानैदेखि संगीतप्रति गहिरो लगाव थियो । आर्थिक समस्या, आवश्यक स्रोतको अभाव र अवसरको कमी हुँदाहुँदै पनि उनले आफ्नो रुचि र लक्ष्यलाई कहिल्यै छोडेनन् । उनको विश्वास थियो—”परिस्थितिले होइन, इच्छाशक्ति र मेहनतले भविष्य निर्धारण गर्छ ।”
सञ्चार क्षेत्रबाट सिकेको अनुभव
संगीतमा पूर्णरूपमा लाग्नुअघि उनले दाङको पुरानो टेलिभिजन RC Channel & Saptarangi HD Television मा करिब १४ वर्षसम्म एडिटर तथा अपरेटरका रूपमा काम गरे । सञ्चार क्षेत्रमा काम गर्दा भिडियो सम्पादन,क्यामेरा सञ्चालन,कार्यक्रम निर्माण र दृश्य सम्प्रेषणका विभिन्न सीप सिके । यहीँ अनुभवका आधारमा उनले “नास्तिक” र “श्याम प्रसाद”जस्ता छोटा चलचित्र निर्माण गरे । ती चलचित्रले समाजका विविध पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेका थिए ।
सञ्चार क्षेत्रमा भविष्य बनाउन सक्ने अवसर हुँदाहुँदै पनि उनको मन भने संगीतमै रमाइरहेको थियो । संगीतलाई नै जीवनको गन्तव्य बनाए अन्ततःउनले आफ्नो वास्तविक पहिचान संगीतमै खोज्ने निर्णय गरे । त्यसपछि उनले संगीत शिक्षालाई व्यवस्थित रूपमा अघि बढाउँदै Sai Grace Music Academy स्थापना गरे । आज उनि गायनका साथै मादल, तबला, बासुरी, ढोलक, मन्डोलिन लगायत विभिन्न वाद्यवादन सिकाउछन् । साथै दाङका विभिन्न विद्यालयमा पुगेर नियमित रूपमा संगीत कक्षा सञ्चालन गर्दै बालबालिकामा कला र संस्कृतिप्रति रुचि जगाइरहहेका छन् । उनका अनुसार संगीत सिक्नु भनेको गीत गाउन मात्र होइन,जीवनलाई अनुशासित बनाउने अभ्यास पनि हो ।
संगीत र आध्यात्मिकताको गहिरो सम्बन्ध
सुशील कुमार गुप्ताको शिक्षण शैली अन्य संगीत प्रशिक्षकभन्दा केही फरक छ । उनि संगीतसँगै आध्यात्मिक ज्ञानलाई पनि जोड दिन्छन् । आफ्ना विद्यार्थीलाई वेद मन्त्र, भजन र नैतिक शिक्षाको महत्वसमेत बुझाउछन् ।
उनको भनाइ छ—”यदि भक्ती छैन भने, भक्ती विनाको संगीतमा मानिस रमाउन त सक्छ, तर डुब्न सक्दैन ।” यस भनाइले उनको संगीतप्रतिको दर्शन स्पष्ट पार्छ । उनका अनुसार संगीत केवल मनोरञ्जनको साधन होइन,आत्मालाई शान्त बनाउने साधना हो । संगीतमा भाव, श्रद्धा र समर्पण भए मात्र त्यसले श्रोताको मन छुन्छ । धैर्यता,साधना र निरन्तर अभ्यासको महत्व सुशीलको विचारमा कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न छोटो बाटो हुँदैन । विशेष गरी संगीत जस्तो कलात्मक क्षेत्रमा धैर्यता, निरन्तर अभ्यास र अनुशासन अनिवार्य हुन्छ । उनि आफ्ना विद्यार्थीलाई बारम्बार भन्नुहुन्छ कि प्रतिभा जन्मजात हुन सक्छ, तर त्यसलाई उत्कृष्ट बनाउने काम अभ्यासले गर्छ । नियमित साधना नगरी उत्कृष्ट कलाकार बन्न सम्भव छैन ।
बुवाबाट पाएको प्रेरणा
उनको सांगीतिक यात्राको सबैभन्दा ठूलो प्रेरणा उनका आफ्नै बुवा थिए । बुवा भजन गायनमा रुचि राख्थे । घरमा धार्मिक वातावरण, भजन र संगीतको अभ्यास भइरहने भएकाले सानैदेखि उनिमा संगीतप्रतिको मोह बढ्दै गयो । त्यही प्रेरणाले उनलाई आज संगीत शिक्षाको क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
कलाकारप्रतिको सम्मान आवश्यक
सुशील कुमार गुप्ता कलाकारको मूल्यांकन प्रसिद्धिका आधारमा गर्न नहुने बताउछन् । उनि भन्छन् —”कलाकार सानो–ठूलो हुँदैन,क्षमता फरक हुन सक्छ । तर समाजमा हरेक कलाकारको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।” उनका अनुसार हरेक कलाकारले समाजको संस्कृति,परम्परा र पहिचान जोगाउन योगदान दिइरहेका हुन्छन् । त्यसैले सबै कलाकारलाई समान सम्मान दिनुपर्छ ।
समाजका लागि प्रेरणाको स्रोत
आज सुशील कुमार गुप्ता केवल एक संगीत शिक्षक मात्र होइन,संघर्षलाई सफलतामा बदल्न सकिन्छ भन्ने जीवित उदाहरण छन् । आर्थिक अभाव, कठिन परिस्थिति र सीमित अवसरका बीच पनि आफ्नो लक्ष्यप्रति अटल रहँदा सफलता सम्भव हुन्छ भन्ने सन्देश उनको जीवनले दिन्छ । उनको यात्राले देखाएको छ कि संगीत केवल मनोरञ्जन होइन, संस्कार,अनुशासन,आत्मविश्वास र आत्मनिर्भरताको माध्यम पनि हो । यहीँ उद्देश्यका साथ उनले संगीतमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिइरहेका छन् ।
संघर्षबाट सुरु भएको उनको यात्रा आज हजारौं विद्यार्थीका लागि प्रेरणा बनेको छ । भविष्यमा पनि उनले नेपाली संगीत,संस्कृति र नयाँ पुस्ताको प्रतिभा विकासमा अझ ठूलो योगदान पुर्याउने विश्वास गर्न सकिन्छ ।
