
Dbc
Amb
Sdc


काठमाडौं — नेपाल आयल निगमले डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरात अर्थात् वैशाख ३ गतेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने हाललाई यथावत् राखिएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ।
यसअघि यी क्षेत्रमा यसको मूल्य २०७ रुपैयाँ थियो। त्यस्तै, दोस्रो वर्गका सुर्खेत र दाङमा प्रतिलिटर २३६ रुपैयाँ तथा पहिलो वर्ग अन्तर्गत तराईका क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज लगायत) मा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको र मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति तथा मूल्यमा असर परेको जनाएको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको निगमको स्पष्टिकरण छ।
यति ठूलो मूल्य वृद्धि हुँदासमेत निगम अझै घाटामा रहेको बताइएको छ। निगमका अनुसार हाल डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा कायम छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण निगमलाई प्रत्येक १५ दिनमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
