
Gisld
Mbdvs
Sds
Pbu
Rbs
mbd

Sls
Tsm
Ssm
Pvg
Wsp
Rgs
Asm
Gst
Sbs
Ksm
Hal
Vor
Ggd
nsb
Rsb
Bbu
Rgu
Bbbpu
Rgu

Mks
Jmb
Ptm
Rmb
Syp
Gsb
Rpp
bbt
Abd
Jmb
Pls
Bml
sab
दाङ । गढवामा नवनिर्मित महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन
भएको छ ।
उक्त भवनको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कार्कीले उक्त भवनको उद्घाटन गर्दै प्रत्येक नागरिकको आवाज सुन्ने र पीडितमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
बेलायत सरकारको सहयोग तथा युएनओपीएस (UNOPS) को सहकार्यमा निर्माण गरिएको उक्त भवनले विशेषगरी संवेदनशील प्रकृतिका मुद्दाहरूमा पीडितलाई सुरक्षित, सहज र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नयाँ संरचनाले न्यायमा पहुँचलाई सहज बनाउनुका साथै सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे ।
उनले प्रहरी संगठनको प्राथमिकता नागरिकमैत्री सेवा रहेको उल्लेख गर्दै पीडितलाई सम्मानजनक व्यवहारसहित सेवा दिनु नै प्रहरीको मुख्य दायित्व भएको स्पष्ट पारे । “प्रत्येक नागरिकको आवाज सुन्ने प्रहरी संगठन निर्माणमा हामी प्रतिबद्ध छौं,” उनले भने । त्यस अवसरमा उनले पछिल्लो समय सामाजिक सञ्जालमा प्रहरीसँग खिचिएको फोटोको दुरुपयोग गरी सर्वसाधारणलाई प्रभाव पार्ने वा डरत्रास सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएकोतर्फ पनि ध्यानाकर्षण गराए ।
यस्ता गतिविधिले निर्दोष व्यक्तिहरूलाई भ्रममा पार्ने भएकाले सचेत रहन उहाँले सबैलाई आग्रह गरे । साथै, प्रहरी संगठनभित्र पारदर्शिता र जवाफदेहितालाई अझ सुदृढ बनाउँदै कुनै पनि प्रकारको ‘टाठाबाठा’ संस्कृति अन्त्य गरिने उनको भनाइ थियो ।
करिब २ करोड ६० लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको उक्त भवन २८७.२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । भवनमा भुइँतलामा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ तथा स्वागत कक्ष, बालमैत्री कक्ष, बैठक कक्ष तथा प्रशासन कक्षको व्यवस्था गरिएको छ । त्यस्तै,पहिलो तल्लामा आवासीय कक्ष, भान्सा तथा भोजन कक्ष र दोस्रो तल्लामा सोलार प्रणालीसहित खुला छतको सुविधा उपलब्ध गराइएको छ ।
कार्यक्रमका क्रममा भवन निर्माणमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । इलाका प्रहरी कार्यालय गढवाका पूर्व प्रहरी निरीक्षक कालिका कार्की लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । उद्घाटनपछि आईजीपी कार्कीले प्रहरी परिसरमा वृक्षारोपण गर्नुका साथै मन्दिर दर्शन समेत गरेका थिए ।
कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, विभिन्न स्थानीय तहका जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि,पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । नयाँ सेवा केन्द्र सञ्चालनमा आएसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीहरूको दर्ता, अनुसन्धान तथा परामर्श सेवा अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ । स्थानीय स्तरमै यस्ता सेवा विस्तार हुँदा पीडितलाई न्यायमा सहज पहुँच पुग्ने विश्वास गरिएको छ ।
