
Ksb
Rsb
Ssb
Bsn
Tgp
Ppu
Gsb
Ksb
Ssb
Rks
Ksb
Csb
Nsb
Usb

Usb
Tsb
Gsb
Hl1
Ssb

Nps
Rgu
ptl
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरुका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध भएको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइएकाले एकीकृत र सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताएका हुन् ।
त्यस्तै सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा मनाइँदै आएको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्दन सामाजिक विकासको संवर्दन’ भन्ने नारासहित मनाइँदैछ । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई मर्यादित र आत्मसम्मानपूर्ण जीवन, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न प्रदेश सरकारले निरन्तर काम गरिरहेको बताए ।
प्रदेशभर अपाङ्गमैत्री पूर्वाधार निर्माण, अपाङ्गता समन्वय समिति गठन, र सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्नका लागि पूर्वाधार तथा संरचनामा सुधार गरिएको उनको भनाइ छ । पुराना संरचनामा आवश्यक परिमार्जन र नयाँ संरचना पूर्ण रुपमा अपाङ्गमैत्री बनाउन काम भइरहेको पनि मुख्यमन्त्री आचार्यले जानकारी दिए ।
शिक्षा,स्वास्थ्य,रोजगारीलगायत राज्यबाट प्रदान गरिने सेवामा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच सुनिश्चित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउन कानुनी आधार निर्माण गर्दै अघि बढ्ने प्रदेश सरकारले स्पष्ट पारेको छ ।
मुख्यमन्त्री आचार्यले दिवसको अवसरमा अपाङ्गता अधिकार प्रवर्दन अभियानमा सहभागी सबैमा शुभकामना व्यक्त गर्दै दिवसको सफलताको कामना गरेका हुन् ।
