
Rgp
Lks
Rgp
ksb
Jns
Sgp
Lnp
Pbu
Asb
Usb
Dus
Dbs
Ggp
Ggp
Rgp
lnp
Rgp


दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकहरु अर्गानिक खेतीतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
शनिबार वडा नम्बर ९ रुपाकोटस्थित राप्ती कृषि सहकारी संस्थाको दाेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष विष्टले पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको बताए । उनले प्राङ्गारिक मल तथा जैविक विधि प्रयोग गरी सुरक्षित र दीगो कृषि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष विष्टले वडा नम्बर ९ लाई अर्गानिक मोडल वडाका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । स्थानीय स्तरमै उत्पादन हुने अदुवा,बेसार, काेदो,फापर,सिस्नु,लोकल कुखुरा,खसीबोका तथा अन्य कृषि–पशुपालनजन्य उपज अर्गानिक विधिबाट उत्पादन गर्न सकिने भएकाले कृषकहरु त्यसतर्फ अघि बढ्न आवश्यक भएको उनको भनाइ थियो।
त्यस्तै उत्पादन बिक्रीबारे कृषकमा देखिन सक्ने चिन्तालाई सम्बोधन गर्दै अध्यक्ष विष्टले भने, “उत्पादन बिक्री हुँदैन कि भनेर चिन्ता नगर्नुस् । पालिकाले मसुरियामा प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ। त्यहाँ बिक्री नभए अन्य ठाउँमा समेत बिक्री–वितरणका लागि पालिकाले आवश्यक सहयोग पुर्याउँछ ।”
यस्तै सहकारीका सदस्यहरुले आधुनिक कृषि प्रविधिको उपयोग,अर्गानिक उत्पादनमा सक्रिय सहभागिता तथा सहकारी प्रणालीमा पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता अध्यक्ष विष्टले औँल्याए । “सहकारीमार्फत कृषकलाई सीप,प्रविधि र सहुलियतपूर्ण लगानी उपलब्ध गराउन सकेमा गाउँको कृषि क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव छ,” उनले जोड दिए ।
कार्यक्रम सहकारीका अध्यक्ष विष्णु कवर योगीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियो। कार्यक्रममा वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, नामसालिङ सामुदायिक विकास केन्द्रका टिम लिडर हिराकाजी घले,वडा सदस्य दधिबहादुर बराल मगर, एनसिडिसीका जिल्ला संयोजक शशाङ्क आचार्य, फील्ड संयोजक धर्मबहादुर यादव,पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका सचिव विष्णुबहादुर चुहानले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लीला पुन मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष सफि मोहम्मद मियाँको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष लीला पुन मगरले गरेका थिए ।
त्यस्तै १ सय ८५ सेयर सदस्य रहेको सहकारीले गाउँपालिकाको सहयोगमा १७ जना सदस्यलाई उन्नत जातका बाख्रा वितरण,नामसालिङ सामुदायिक विकास केन्द्रबाट प्राप्त रकमलाई घुम्ती कोषमार्फत सहुलियत ब्याजदरमा लगानी तथा विभिन्न कृषि–सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।
