
Dbs
Rgp
Ggp
Rgp
lnp
Ggp
Dus
Sgp
Pbu
Asb
Lks
ksb
Lnp
Rgp
Jns
Usb
Rgp


दाङ । किर्तेगरी नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्। झुटो र किर्ते कागजात तयार पारेर नागरिकता सिफारिस गरेको आरोपमा राजपुर गाउँपालिका– ७ का ७२ वर्षीय वडाध्यक्ष भीमबहादुर खड्का पक्राउ परेका हुन्।
स्थानीयको उजुरीको आधारमा नक्कली कागजातका आधारमा नागरिकता सिफारिस गरेको र नागरिकता लिएको खुलेपछि वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको हो।
वडाध्यक्ष खड्कासँगै भीमबहादुर कामी र उनकी छोरी सुशीला विकलाई पक्राउ गरिएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले जानकारी दिए। वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ। वडाध्यक्ष बिरामी रहेकाले सोमवार उपस्थित गराउनेगरी परिवारको जिम्मा लगाइएको छ।
त्यस्तै भीमबहादुर कामीले छोरी ज्वाइँ अर्जुन विकलाई आफ्नो दिवंगत छोरो लीलाराम विकको नामबाट नागरिकता दिलाएको खुलेको छ। ०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट नागरिकता जारी भएको थियो। नागरिकतामा खवासकै हस्ताक्षर छ। किर्ते गरेर नागरिकता लिएपछि अर्जुन र सुशीला श्रीमान्–श्रीमती भए पनि कागजपत्रमा उनीहरू दाजु–बहिनी बनेको पाइएको छ।
यो काममा भीमबहादुरकी छोरी सुशीला मुख्य भूमिका भएको पाइएको खवासले बताए। किर्ते नागरिकतामा लीलाराम विक नाम राखेका अर्जुन विक हाल वैदेशिक रोजगारी सिलसिलामा साउदी अरबमा छन्।
यस्तै सुशीलाले चितवन घर भएका अर्जुनसँग बिहे गरेकी हुन। तर, अर्जुनको चितवन घरको वास्तविक ठेगाना थाहा छैन। ‘अर्जुन भन्ने व्यक्ति नेपाली हो कि विदेशी भन्ने ठ्याक्कै थाहा छैन’, खवासले भने, ‘श्रीमतीलाई चितवन कहाँ हो घर भन्ने पनि थाहा छैन।’
भीमबहादुरको माइली श्रीमतीबाट जन्मिएका छोरा थिए लिलाराम। ०५० सालको जन्म राखेर जन्मदर्ता गरेको पाइन्छ। त्यही १५ वर्षको उमेरमा लीलारामको मृत्यु हुन्छ। अर्जुनले त्यही लीलारामको जन्मदर्ता प्रयोग गरेर नागरिकता लिएको खुलेको छ। वडाध्यक्षले मृत्यु भएका लीलारामको जन्मदर्तालाई आधार मानेर अर्जुनलाई लीलाराम बनाई नागरिकताका लागि सिफारिस गरेकाले उनी दोषी देखिएका छन्।
वडाध्यक्ष खड्काले दुःख देख्न नसकेर नागरिकताका लागि सिफारिस गरेको स्विकारेको दाबी खवासको छ। ‘विदेश कमाउन जान सजिलो होला भनेर नागरिकता सिफारिस दिएको स्विकार्नुभएको छ’, खवासले भने, ‘वडाध्यक्षलाई यो सूचना पहिल्यै थियो। तर, उहाँ चुपचाप बस्नुभयो।’
