दिपक वली मंगलबार, भाद्र ०२, २०८३

दाङ । राजपुरको बेलामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित भएका छन्

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राजपुर गाउँपालिका र घोराही–३ मा रहेको ३०० शय्याको संजीवनी टिचिङ हस्पिटलको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

राजपुर गाउँपालिका वडा नम्बर २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र,पवित्रानगरमा आयोजित शिविरबाट ४ सयभन्दा बढी सेवाग्राहीले विशेषज्ञ स्वास्थ्य सेवा तथा परामर्श लिएका छन् । शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा,स्त्री तथा प्रसूति,जनरल सर्जरी,शिशु तथा बालरोग,नाक–कान–घाँटी र रेडियोलोजी लगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए ।

शिविरमा स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शसँगै निःशुल्क औषधि वितरण,भिडियो एक्सरे तथा प्रयोगशाला परीक्षण समेत गरिएको थियो । गाउँमै विशेषज्ञ चिकित्सकसहितको सेवा पाएपछि स्थानीय नागरिकले स्वास्थ्य शिविरप्रति उत्साहजनक सहभागिता जनाएका थिए ।

सो शिविर कार्यक्रमको उद्घाटन राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकको टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएकोमा संजीवनी टिचिङ हस्पिटललाई धन्यवाद व्यक्त गरे । उनले अस्पतालले हरेक मंगलबार पालिकाबाट अस्पतालसम्म निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिँदै स्थानीय नागरिकलाई उक्त सेवाको उपयोग गर्न आग्रह गरे ।

राजपुर गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश यादवले राजपुरका धेरै बस्ती अझै पनि भौगोलिक रूपमा दुर्गम रहेकाले यस्ता स्वास्थ्य शिविरले ग्रामीण नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी रुपलाल पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन संजीवनी टिचिङ हस्पिटलका प्रशासकीय अधिकृत सुशील रिजालले गरेका थिए ।

संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले शिविर सञ्चालनका लागि सहकार्य गर्ने राजपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे । उनले दाङमै ३०० शय्याको सुविधासम्पन्न शिक्षण अस्पतालबाट विशेषज्ञ सेवा उपलब्ध हुन थालेकाले यस क्षेत्रका बिरामीलाई उपचारका लागि बाँके वा रुपन्देही धाउनुपर्ने बाध्यता क्रमशः कम हुँदै जाने बताए ।

“स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराउनु नै शिविरको मुख्य उद्देश्य हो,” अधिकृत रोकाले भने । उनका अनुसार शिविरमार्फत निःशुल्क उपचार, रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ सेवामा पहुँच र आवश्यक बिरामीलाई थप उपचारका लागि प्रेषण गर्ने काम भइरहेको छ ।

त्यस्तै,अस्पतालका व्यवस्थापक मदनप्रसाद पन्थीले शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीले थप उपचारका लागि संजीवनी अस्पतालमा सेवा लिन आएमा औषधिबाहेक अन्य सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार ३०० शय्याको संजीवनी टिचिङ हस्पिटलमा विभिन्न विशेषज्ञ सेवाका अतिरिक्त न्युरो तथा युरोसम्बन्धी विशिष्टीकृत सेवा समेत सञ्चालनमा छन् ।

अस्पतालमा क्रिटिकल केयरअन्तर्गत आईसीयू, सीसीयू, एमआईसीयू,एनआईसीयू,पीआईसीयू,एसआईसीयू र एचडीयूलगायतका सेवा सञ्चालनमा रहेको उनले जानकारी दिए । त्यसैगरी रेडियोलोजीतर्फ डिजिटल एक्सरे, भिडियो एक्सरे, म्यामोग्राफी, ईसीजी, इको, सीटी स्क्यान, एमआरआई तथा इन्टरभेन्सनल इन्डोस्कोपी र कोलोनोस्कोपीजस्ता सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । हेमोडायलासिस तथा कार्डियोलोजी सेवा पनि निकट भविष्यमा सञ्चालन गर्ने तयारी भइरहेको पन्थीले बताए ।

शिविरको संयोजन संजीवनी टिचिङ हस्पिटलका प्रशासकीय अधिकृत सुशील रिजाल र राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलबहादुर रोकाले गरेका थिए । शिविरमा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी,स्वास्थ्य स्वयंसेविका तथा सुरक्षाकर्मी लगायतले सहयोग गरेका थिए । शिविरबाट सेवा लिने ८३ वर्षीया भुमा भण्डारी,८१ वर्षीय झुण्डी चौधरी र ६६ वर्षीय देशबहादुर केसी लगायत स्थानीयले गाउँमै चिकित्सकको स्वास्थ्य परीक्षण,परामर्श तथा भिडियो एक्सरे सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

त्यस्तै,उनीहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवाबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिएको यस प्रकारको स्वास्थ्य शिविरले विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै रोगको समयमै पहिचान र उपचारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]