
Sdc
ksbus
Amb


काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका बहालवाला नगरप्रमुखसहित ११ जनाविरुद्ध दुग्ध चिस्यान केन्द्र निर्माणका लागि प्राप्त सरकारी अनुदान हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार चिस्यान केन्द्र निर्माणका लागि कर्णाली प्रदेश सरकार र आठबिसकोट नगरपालिकाबाट दुई चरणमा प्राप्त १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ अनुदान दुरुपयोग गरिएको हो । मुद्दामा आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवी केसी मुख्य प्रतिवादी छन् । उनीसँगै प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह विरुद्ध जनही ८० लाख २३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
त्यस्तै,तत्कालीन पशु विकास अधिकृत तथा निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत तथा निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन र कृषि विकास कार्यालयका कृषि अधिकृत मीनबहादुर केसी विरुद्ध जनही ९१ लाख १७ हजार ८७३ रुपैयाँ बिगो माग गरिएको छ ।
त्यसैगरी आठबिसकोट दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेल विरुद्ध दुवै चरणको अनुदान जोडेर १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ बिगो कायम गरिएको छ । अख्तियारका अनुसार कर्णाली प्रदेशको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ विपरीत योग्यतै नपुगेको सहकारीलाई छनोट गरी निर्माण ठेक्काको मूल्यांकनमा बदनियतपूर्ण ढंगले अनियमितता गरिएको थियो ।
त्यस्तै,आरोपपत्रमा चिस्यान केन्द्र स्थापना भएको दुई वर्षसम्म सञ्चालनमा नआए पनि त्यसको जानकारी हुँदाहुँदै नगरपालिकाले थप ८० लाख २३ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको उल्लेख छ । उक्त रकमबाट खरिद गरिएका मिल्क ट्यांकर र दुई वटा सिंगल क्याब गाडीसमेत प्रयोगविहीन अवस्थामा रहेको अख्तियारको दाबी छ । निर्णय प्रक्रियामा संलग्न जनप्रतिनिधि,कर्मचारी तथा सहकारीका पदाधिकारीको मिलेमतोमा सरकारी अनुदान दुरुपयोग भएको निष्कर्षसहित अख्तियारले सबै ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
