
Ksbus
Msbus
Ggp
Ggp
Rgp
Ksbus
Lnp
Asbus
Sdc


दाङ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वय ईकाइ बुटवलका प्रमुख नरेन्द्र अर्यालले चुरे तथा सिमसार क्षेत्रको दिगो संरक्षणमा स्थानीय उपभोक्ताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।
बुधवार लमही स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिनपार्कको स्थलगत अवलोकनका क्रममा उहाँले प्राकृतिक स्रोतहरूको संरक्षण सरकारी निकायको मात्र जिम्मेवारी नभई स्थानीय समुदायको सक्रिय सहभागिताले मात्रै प्रभावकारी हुन सक्ने धारणा व्यक्त गरे ।
प्रमुख अर्यालले चुरे क्षेत्र नेपालको जलस्रोत, जैविक विविधता, वन्यजन्तु तथा वातावरणीय सन्तुलनको आधार भएकाले यसको संरक्षणमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । उनले स्थानीय समुदायले वन संरक्षण, वृक्षारोपण, सिमसार संरक्षण, वन्यजन्तु संरक्षण तथा वातावरणमैत्री गतिविधिमार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै अजम्मरी सामुदायिक वनले सञ्चालन गरेको जैविक विविधता ग्रिनपार्क अनुकरणीय उदाहरण भएको उल्लेख गरे ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले ग्रिनपार्क स्थापना गर्नुको उद्देश्य, हालसम्म भएका संरक्षणका प्रयास तथा भविष्यका योजनाबारे जानकारी गराएका थिए । उनले डिभिजन वन कार्यालय देउखुरी, स्थानीय तह र स्थानीय उपभोक्ताको सक्रिय सहभागितामा वन संरक्षण, वन्यजन्तु संरक्षण, सर्प संरक्षण, वृक्षारोपण तथा वातावरणीय सचेतना कार्यक्रम निरन्तर सञ्चालन भइरहेको जानकारी दिए ।
स्थलगत अवलोकन कार्यक्रममा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन ईकाइ बुटवलका अधिकृत नारायण प्रसाद पोख्रेल, इञ्जिनियर प्रकाश बस्नेत, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष तेजबहादुर विक, प्रेस संयोजक शिवु खनाल लगायतको सहभागी रहेको थियो ।
