
Sdc
Amb
ksbus


दाङ । स्वच्छ र सुरक्षित खानेपानीको दीर्घकालीन सुनिश्चितताका लागि मुहान क्षेत्रको संरक्षण आवश्यक रहेको भन्दै लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले हरेक वर्ष सञ्चालन गर्दै आएको वृक्षारोपण अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।
लमही नगरपालिका वडा नम्बर ४ स्थित पारिजात महिला सामाजिक वन क्षेत्रमा संस्थाले विभिन्न प्रजातिका एक हजार बिरुवा वृक्षारोपण गरेको हो । जलस्रोत संरक्षण, भू–क्षय नियन्त्रण, वातावरणीय सन्तुलन कायम गर्नुका साथै भावी पुस्ताका लागि सुरक्षित खानेपानीको स्रोत संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनम कुमार पौडेलले मुहान क्षेत्रको संरक्षण बिना स्वच्छ खानेपानीको दिगोपना सम्भव नहुने बताए । उनले भने । वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यक्रम मात्र होइन, यो हाम्रो खानेपानीको भविष्य सुरक्षित गर्ने अभियान हो । प्रत्येक वर्ष स्थानीय समुदायसँग मिलेर यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ । रोपिएका बिरुवाको संरक्षणमा पनि उत्तिकै ध्यान दिनेछौँ ।
स्वच्छ र सुरक्षित खानेपानीको दीर्घकालीन सुनिश्चितताका लागि मुहान क्षेत्रको संरक्षण अत्यन्त आवश्यक छ । यहीँ उद्देश्यलाई आत्मसात गर्दै हाम्रो संस्थाले प्रत्येक वर्ष वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज रोपिएका बिरुवाहरू भविष्यमा हरियाली मात्र होइन,खानेपानीका मुहानलाई संरक्षण गर्ने आधार पनि बन्नेछन् ।वृक्षारोपणसँगै बिरुवाको संरक्षण र नियमित हेरचाहमा पनि हामी उत्तिकै प्रतिबद्ध छौँ । प्राकृतिक स्रोतको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिताबिना दिगो सफलता सम्भव छैन । त्यसैले सबै उपभोक्तालाई रोपिएका बिरुवाको संरक्षणमा हातेमालो गर्न आग्रह गर्दछु ।
संस्थाका अध्यक्ष सनम पौडेलले खानेपानी प्रणालीलाई अझ प्रभावकारी र दिगो बनाउन हामी निरन्तर पूर्वाधार सुधार, पाइपलाइन विस्तार तथा चुहावट नियन्त्रणका कामहरू पनि अघि बढाइरहेको बताए । उपभोक्ताको सहज पहुँच र गुणस्तरीय सेवा हाम्रो प्रमुख प्राथमिकता हो, उनले भने । जलस्रोतको संरक्षण केवल संस्थाको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समुदायको साझा दायित्व हो भन्ने कुरामा हामी दृढ छौँ । आगामी दिनमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने हाम्रो योजना छ । सबैको साथ, सहयोग र सहभागिताले मात्र स्वच्छ पानी र हरियालीयुक्त भविष्य सम्भव हुनेछ ।
कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले प्राकृतिक स्रोतको संरक्षणमा स्थानीय समुदाय र संस्थाबीचको सहकार्य प्रशंसनीय रहेको बताए । उनले भने । खानेपानीको मुहान जोगाउन वन संरक्षण अपरिहार्य छ । आज रोपिएका बिरुवाले भोलि वातावरण मात्र होइन,जनताको जीवन पनि सुरक्षित बनाउनेछन् । यस्ता अभियानमा सबैको सहभागिता आवश्यक छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव बसन्त आचार्यले वृक्षारोपणसँगै संरक्षणलाई पनि प्राथमिकता दिइएको जानकारी दिए । उनका अनुसार रोपिएका बिरुवाको नियमित अनुगमन, हेरचाह तथा संरक्षणका लागि स्थानीय उपभोक्ता र सामाजिक वन समूहसँग समन्वय गरिने बताए ।
उनले भने । कार्यक्रमको सफलता बिरुवा रोपेर मात्र हुँदैन, तिनलाई हुर्काएर हरियालीमा परिणत गर्नु नै हाम्रो मुख्य लक्ष्य हो ।
स्थानीयवासीहरुले पनि यस्ता अभियानले वातावरण संरक्षण, भू–क्षय न्यूनीकरण,जैविक विविधता संरक्षण तथा खानेपानीका मुहानहरुलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विगत केही वर्षदेखि नियमित रूपमा मुहान संरक्षण, वृक्षारोपण, सरसफाइ तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाको यो अभियानले स्थानीय समुदायमा वातावरण संरक्षण प्रति सकारात्मक चेतना फैलाउँदै खानेपानी स्रोतको दिगो व्यवस्थापनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
