
Smsld
Ggd
Sns
Pbu
Pvgdn
Vic


काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३ बस्दै आएकी तनहुँकी २१ वर्षीया सचिता परियार, काठमाडौं बुढानीलकण्ठ नगरपालिका–२ बस्ने सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौं तारकेश्वर नगरपालिका–८ बस्ने बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, काठमाडौं टोखा नगरपालिका–५ बस्ने ताप्लेजुङका ४८ वर्षीय उमेश लिम्बु तथा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१० बस्ने खोटाङका ४१ वर्षीय निरोज राई रहेका छन्।
प्रहरीका अनुसार कुनसाङ लामाले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख ७ हजार रुपैयाँ, धनबहादुर शाहीले जर्जिया पठाइदिने भन्दै २ लाख ९५ हजार रुपैयाँ, उमेश लिम्बुले बेलारुस पठाइदिने भन्दै ५ लाख रुपैयाँ, सचिता परियारले रोमानिया पठाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ तथा निरोज राईले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट ७ लाख ९० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोप छ।
पीडितहरूको उजुरीका आधारमा प्रहरीले कुनसाङ लामालाई बिहीबार बुढानीलकण्ठ–२ र धनबहादुर शाहीलाई तारकेश्वर–८ बाट पक्राउ गरेको थियो। त्यसैगरी शुक्रबार उमेश लिम्बुलाई टोखा–५, सचिता परियारलाई काठमाडौं महानगरपालिका–३ र निरोज राईलाई काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
