दाङ । लमही नगरपालिका वडा नं. ७ बनघुस्री निवासी प्रेमलाल चौधरीको मुख्य पेसा भनेकै कृषि हो । हाल उहाँ आफ्नो ६ कट्ठा जमिनमा टमाटर खेती गरिरहनु भएको छ । उहाँको बारीमा टमाटर लटरम्मै फलेका छन् । तर बारीमा भएको टमाटरले बजार नपाउँदा त्यसै सडेर जाने अवस्थामा रहेको चौधरीले बताउनु भयो ।
त्यस्तै हाल उहाँको बारीमा १० क्वीन्टल टमाटर सडेर जाने अवस्थामा छन् । अहिले बजारमा टमाटरको मूल्य न्यून छ । सस्तोमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि नउठ्ने उहाँको भनाइ छ । ‘हामीले लगानी लगाएर धेरै मेहनत र परीश्रम गरी तरकारी उत्पादन गरेका हुन्छौं तर तरकारीले मूल्य नपाउँदा खिन्न हुनुपर्दछ,चौधरीले भन्नु भयो । तरकारीलाई भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने ब्यबस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसानहरु मारमा परेका छन् । यो सिजनमा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसानहरु मारमा पर्ने गरेका छन् । उत्पादन भएका तरकारीले बजार नपाउँदा बिचौलियाहरुसमेत सल्बलाउने गरेको स्थानीय श्रीराम चौधरी बताउँनु हुन्छ ।
लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल थाल्नुपर्ने कृषक चौधरीले माग गर्नु भएको छ । लमही नगरपालिकाले पनि कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको भन्दै त्यसबाट किसानहरुले केही आशा गरेको कृषकहरुको भनाइ छ ।
यता लमही नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मोहन गिरीले पीडित कृषकलाई उचित राहतको ब्यबस्था गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । लमही नगरपालिका–७ तरकारीका लागि पकेट क्षेत्र भएकाले कृषि क्षेत्रबाटै समृद्धि ल्याउन सकिने भएकाले त्यसका लागि शीत भण्डार र बाहिरी जिल्लामा ढुवानीको ब्यबस्था गर्न कानुन बनाएर अघि बढ्ने बताउनु भएको छ । लमहीमा सामूहिकरुपमा पनि तरकारी खेती हुँदै आएको छ ।
त्यहाँका नागरिक तरकारी खेतीमै निर्भर हुने गरेका छन् । सिचाइको सहज सुबिधा भएकाले पनि त्यहाँ राम्रो तरकारी उत्पादन हुने गर्छ । सम्बन्धित निकायले समयमै कृषक हरुको पिर–मर्का बुझ्न सके कृषि क्षेत्रबाट कृषकहरु आर्थिक रुपमा बलियो हुने उनीहरुको विश्वास छ ।