
ksbus
Amb
Sdc


दाङ । देउखुरीको लमहीमा लमहीमा ८ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा उद्घाटन भएको प्रतियोगिता कार्यक्रममा मन्त्री तिमिल्सिनाले खेलकुद विद्यार्थी जीवनको एक महत्वपूर्ण विधा भएको बताएका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले खेलकुदले विद्यार्थीलाई अनुशासित, मर्यादित र जिम्मेवार बनाउने उल्लेख गरे। उनले खेलकुदमार्फत शारीरिक तथा मानसिक विकास मात्र नभई नेतृत्व क्षमता,सहकार्य र प्रतिस्पर्धाको भावना विकास हुने बताए । खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै समग्र देश विकाससँग खेलकुदको प्रत्यक्ष सरोकार रहेकोमा उनले जोड दिए। साथै स्थानीय तहबाटै खेलकुदको प्रवर्द्धन र प्रतिभा पहिचान गरिनु आवश्यक रहेको उनको भनाइ थियो ।
पुस १० गतेदेखि सुरु भएको ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सामुदायिक र संस्थागत गरी माध्यमिक विद्यालय १८, आधारभूत विद्यालय २४ र १८ वटा प्राथमिक विद्यालय सहभागी भएका छन् । त्यस्तै मार्चपास प्रतियोगितामा २४ वटा विद्यालय सहभागी भएका थिए। मार्चपासतर्फ माध्यमिक विद्यालय फल्कापुर प्रथम,आदर्श नमूना माध्यमिक विद्यालय देउपुर द्वितीय र रोजी बड्स बालबाटिका माध्यमिक विद्यालय तृतीय भएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते लगायतका खेल समावेश गरिएको छ । एथलेटिक्समा पदमा चौधरी, भलिबलमा यादव प्रसाद चौधरी र कबड्डीमा रेश्मा योगीलाई खेल प्राविधिकको जिम्मेवारी प्रदान गरिएको छ ।
बिहीबार भएको छात्रातर्फको चम्चा दौड प्रतियोगितामा प्राथमिक विद्यालय भ्युसनपुरकी सरिता कुमाल प्रथम,बाल जनता आधारभूत विद्यालय वनगाउँकी स्मारिका विक द्वितीय र जनज्योती आधारभूत विद्यालय घुम्नाकी पूजा कुमाल तृतीय भएकी छन्। उक्त जानकारी लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशब लम्सालले दिएका छन् ।
लमही नगरपालिकाको आयोजित ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले स्वागत मन्तव्य राखेकी थिइन् भने विपद शाखा प्रमुख गायत्री थापा र शिक्षा शाखाकी अम्बिका शर्माले कार्यक्रम सञ्चालन गरेका थिए। प्रतियोगिता पुस १२ गते समापन हुने नगरपालिकाले जनाएको छ ।


