
Lnp
Ggp
Dbs
ksb
lnp
Pbu
Sgp
Jns
Rgp
Usb
Asb
Dus
Rgp
Rgp
Ggp
Lks
Rgp


दाङ । थारु कल्याणकारिणी सभा दाङले थारु समुदायको अट्वारी पर्वमा प्रदेश र स्थानीय सरकारसँग दुईदिनको सार्वजनिक बिदा माग गरेको छ ।
सोमबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै सभाका अध्यक्ष अशोक कुमार चौधरीले अट्वारी पर्व थारू समुदायको महान पर्व भएकाले यसमा दुईदिन सार्वजनिक बिदा दिनुपर्ने बताए ।
अट्वारीको पहिलो दिन दिभरी ब्रत बसेर पूजापाठ गरिन्छ भने दोस्रो दिन पनि पूजापाठ गरेर आफ्ना दिदीबहिनीहरुलाई अग्रासन दिन जानुपर्ने भएकाले दुई दिन बिदा दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसैबीच, सभाले यस वर्षको अट्वारी भदौ ८ गते परेकाले सम्पूर्ण थारु समुदायलाई सोही दिन अट्वारी मनाउन अनुरोध गरेको छ ।
थारु बुद्धिजीवी र संस्कृतिविदहरुको सल्लाह अनुसार, परम्परागत रूपमा महिलाहरुले मनाउने अष्टिम्की पर्वको दोस्रो आइतबार अर्थात कुश अमाउस (कुशे औसी) पछिको आइतबार अट्वारी मनाइने परम्परा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवम् दाङका पूर्व अध्यक्षसमेत रहेका भुवन चौधरीले पनि खास अट्वारी भदौ ८ गते नै भएको बताए ।
त्यस्तै उनले अष्टिमीपछि कुस अमाउस (कुशे औंसी) को पहिलो आइतबारलाई अट्वारी मनाउने पहिलाको प्रचलन भएकाले सोही आधारमा भदौ ८ गते अट्वारी पर्व पर्न गएको बताए । यस्तै, लेखक छविलाल कोपिलाले पनि अष्टिम्कीपछिको दोस्रो आइतबार अट्वारी मनाउने प्रचलन भएकाले यस वर्षको अट्वारी भदौ ८ गते अट्वारी परेको बताए ।
अट्वारी पर्व थारू समुदायको पुरुषहरुले विशेष रुपमा मनाउने गर्दछन् । उनिहरुले आफ्ना दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत दिनभरि व्रत बसी बेलुकी ५ बजे भीमको पूजा गर्ने गर्दछन् । अट्वारीमा गहुँ, चामल र अनदी चामलको पिठोको विभिन्न थरीथरीका रोटीको परिकार बनाएर र फलफूलसहित खाने गर्दछन् । आफूले खानु अगाडि भीमको नाममा अग्निमा गहुँ, चामलको रोटी, फलफूल चढाएर जलले पूजापाठ गर्ने र आफ्नो भागमा रहेको केही भाग आफ्ना दिदी बहिनीहरुको लागि निकाले बल्ल खाने चलन छ ।
त्यस्तै,अट्वारीको दोस्रो दिन पनि पहिला दिन जस्तै भात, तरकारीहरु मुछेर अग्नीमा चढाउने मोही र जलले पूजाअर्चना गरिसकेपछि आफ्नो भागबाट दिदीबहिनीलाई छुत्याएर ब्रतालुहरुले खाने गर्दछन् । व्रतालुहरुले आफ्नो भागबाट निकालेको रोटी, फलफुल तथा अन्य परिकारसहित आफ्नो दिदीबहिनीहरुलाई अग्रासन (कोसेली) को रुपमा दिने गर्छन् । जसलाई थारु समुदायमा अग्रासन भन्ने गर्छन् । अट्वारी पर्व मनाउने एउटा ऐतिहासिक घटनासँग जोडिएको थारु अगुवाहरु बताउँछन् । प्राचिनकालमा दाङका थारु दंगिशरण राजा र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङक थारु राजा दंगिशरणबिच लामो घनिष्ठ थियो । यहि बिचमा पाँच पाण्डव र दौपदी सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका थिए ।
त्यहि क्रममा दंगिशरण राजाको दरबारमा शत्रुहरुले आक्रणम गर्न लागेको थाहा पाएपछि भीमले आफूले खानको लागि तावामा पकाउँदै गरेको रोटी छोडेर भीमले भोकै पेटमा दंगिशरणको पक्षमा लड्न आए ।दंगिशरणको पक्षमा लड्न आएका भीमले विजय हासिल गरेका थिए । संयोगवश उक्त घटना आइबार परेको थियो । त्यही मान्यता र विश्वासको आधारमा भीम जस्तै बलियो भइन्छ भनेर थारु समुदायले अट्वारी पर्व मनाउँदै आएका छन् ।
