दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङले राप्ती नदीबाट अवैध नदीजन्य पदार्थ उत्खनन्मा संलग्न ९ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
आज बिहान साढे ३ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर १ र गढवा गाउँपालिका–१ स्थित राप्ती नदी किनाराबाट अवैध रुपमा मिस्कट बालुवा लोड गर्दै गरेका ९ वटा ट्याक्टरहरु सहित चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीको नेतृत्वमा खटेको टोलीले रातिको समयमा विशेष गस्ती गर्ने क्रममा ती ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्याक्टरहरूमा लु ३ त ६१६०, रा १ त २१२१, लु ४ त १२२५, रा १ त ५०५३, लु ४ त १६१०, रा १ त ३९०९, लु ३ त ३८७८, रा १ त ४१४० र ना ७ त ५६८७ नम्बरका ट्याक्टरहरु रहेका छन् ।
त्यस्तै प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरहरू अवैध रूपमा बालुवा उत्खनन् र ढुवानीमा संलग्न रहेका थिए । चालकहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस्तै प्रहरीले यस्ता अनधिकृत गतिविधिले वातावरण,नदी प्रणाली तथा स्थानीय संरचनामा गम्भीर असर पार्ने भएकाले नियमित गस्ती र निगरानीलाई अझ कडाइका साथ अगाडि बढाइने बताएको छ ।