
Gsbg-3
Msbg-2
ksbl-7
Gsbr-6
Jsbr-3
Jsbg-7
Csbg-7
Usbl-7
Rksr-7
Pbu


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले बैशाख २४ गते अर्थात भोलि बुधबार वडा नम्बर ३ स्थित बसन्तापुरमा एकदिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ ।
गाउँपालिका तथा वडा कार्यालयसम्म सेवा लिन आउन नसक्ने नागरिकलाई लक्षित गरी उक्त शिविर सञ्चालन गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिए । उनका अनुसार विशेष गरी वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले सहज रुपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।
एकीकृत घुम्ती सेवा शिविरमार्फत नागरिकले विभिन्न सरकारी सेवा एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्ने छन् । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा सल्लाह,पशुपन्छी तथा मत्स्य विकास, सामाजिक सुरक्षा तथा पञ्जिकरण,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा,कृषि परामर्श, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवा उपलब्ध हुने छन् । यसका साथै,स्थानीय समस्या, गुनासा तथा सुझावहरु संकलन गरी आगामी योजना निर्माणमा उपयोग गरिने जानकारी पनि पालिकाले दिएको छ ।
त्यस्तै राप्ती गाउँपालिकाले हरेक वर्ष विभिन्न वडामा यस्ता घुम्ती सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी,समावेशी र पहुँचयोग्य बनाउने उद्देश्यले यसपटक पनि शिविर सञ्चालन गर्न लागिएको हो । पालिकाका अनुसार यस्ता शिविरले ग्रामीण भेगमा बसोबास गर्ने नागरिकको सेवा पहुँचमा सुधार ल्याउनुका साथै पालिका र जनताबीचको सम्बन्ध मजबुत बनाउने लक्ष्य लिएको छ ।
स्थानीय तहका सेवा जनताको घरदैलोमा पुर्याउनु नै यस्ता कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । पालिकाले सबै स्थानीयवासीलाई उक्त शिविरमा सहभागी भई आफूलाई आवश्यक सेवा लिन आह्वान समेत गरेको छ ।
