
ksbl-7
Jsbr-3
Gsbg-3
Msbg-2
Usbl-7
Pbu
Rksr-7
Csbg-7
Gsbr-6
Jsbg-7


दाङ । देउखुरीको राप्ती गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय भालुबाङ र गढवा गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुखहरुको हालै सरुवा भएको छ ।
प्रहरी निरीक्षक अमरबहादुर माझी र प्रहरी निरीक्षक कालिका कार्कीको नेपाल प्रहरी प्रधान कार्यालय नक्साल,काठमाडौँमा सरुवा भएपछि राप्ती गाउँपालिकाले बुधबार ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी उनिहरुलाई विदाई गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले संयुक्त रुपमा प्रशंसापत्र र मायाकाे चिनाे प्रदान गर्दै दुवै प्रहरी अधिकृतलाई विदाई गरेका हुन् । सो अवसरमा अध्यक्ष विष्टले राप्ती गाउँपालिकाको समग्र शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरी निरीक्षक माझी र कार्कीको अतुलनीय योगदान रहेको उल्लेख गरे ।
त्यस्तै उनले हरेक जटिल परिस्थितिमा पनि दुवैले अत्यन्त जिम्मेवारीपूर्वक काम गर्दै स्थानीय बासिन्दालाई सुरक्षित र सहज वातावरण प्रदान गर्न सफल भएको बताए । अध्यक्ष विष्टले उहाँहरुको इमान्दारिता,कर्तव्यनिष्ठा र समुदायप्रतिको समर्पणलाई उच्च सम्मान रहने उल्लेख गरे । साथै, गाउँपालिकाकाे शान्ति,सद्भाव र सुशासनमा योगदान पुर्याउने सम्पूर्ण सुरक्षाकर्मीहरुलाई सदैव समर्थन र साथ रहने बताए ।
त्यसैगरी,प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले प्रहरी निरीक्षक माझी र कार्कीले समुदायमैत्री अभ्यास गर्दै नागरिकहरुको विश्वास जित्न सफल भएको बताए । उनले सुरक्षालाई बलियो बनाउने कार्यमा गाउँपालिका र सुरक्षाकर्मीबीचको आपसी सहकार्यले सकारात्मक परिणाम देखाएको उल्लेख गरे । पाठकले राप्तीलाई सुरक्षित,समृद्ध र नागरिकमैत्री पालिका बनाउन उहाँहरुको योगदान कहिल्यै भुल्न नसकिने बताउँदै आगामी दिनमा पनि यस्तै सहकार्य र समर्पणको अपेक्षा राखे ।
कार्यक्रममा प्रहरी निरीक्षक अमरबहादुर माझीले राप्ती क्षेत्रका जनताको साथ र सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । उनले यस क्षेत्रकाे सेवा यात्राले आफूलाई अझ जिम्मेवार प्रहरी बन्न थप प्रेरणा दिएको उल्लेख गरे ।
त्यसैगरी,प्रहरी निरीक्षक कालिका कार्कीले पनि पालिका प्रशासन,जनप्रतिनिधि तथा स्थानीय समुदायप्रति कृतज्ञता प्रकट गर्दै आगामी जिम्मेवारीमा पनि समुदायको भरोसा जित्न निरन्तर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रहरी निरीक्षक माझी र कार्कीले २०८१ साल जेठ ३ गते क्रमशः इलाका प्रहरी कार्यालय भालुबाङ र इलाका प्रहरी कार्यालय गढवाकाे प्रमुखका रुपमा कार्यभार सम्हालेका थिए । करिब ११ महिनाको कार्यकालमा उनिहरुले स्थानीय समुदाय, संघसंस्था र प्रशासनसँगकाे सहकार्यलाई प्राथमिकता दिँदै कार्यसम्पादन गरेका थिए ।
यसैबीच,प्रहरी निरीक्षक पुष्करसिंह ऐरी इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी निरीक्षक डबलबहादुर बम गढवाको नयाँ प्रमुखका रूपमा कार्यभार सम्हालेका छन् । गाउँपालिकाले नयाँ नेतृत्वसँग पनि शान्ति सुरक्षा सुदृढीकरणका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
