
Ksbus
Ksbus
Ggp
Asbus
Msbus
Rgp
Lnp
Ggp
Sdc

दाङ । राप्तीको नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायतका माग राख्दै दाङ देउखुरीको राजपुर गाउँपालिकाको कार्यालयमा अल्टिमेटम अनुसार सोमबार तालाबन्दी गरिएको छ ।
राज्यको प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथि मनपरी दोहन र कब्जा हुन थालेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले नै गाउँ कार्यपालिकामा ताला लगाएका छन् ।
सो गाउँपालिकाको वडा नम्बर ३ को खरदरिया घाटबाट केसी निर्माण सेवालाई नदीजन्य पदार्थ उत्खननका लागि २० हजार सात सय घनमिटरको ठेक्का दिएकोमा सम्झौता विपरीत ५८ हजार घनमिटर उत्खनन् गरेको भेटिएपछि अवैध रूपमा संकलन गरिएको ३७ हजार ३०० घनमिटर नदीजन्य पदार्थ यथाशीघ्र जरिबानासहित फिर्ता गर्न माग गर्दै तालाबन्दी गरिएको गाउँपालिकाका प्रवक्ता श्याम रोकाले जानकारी दिनु भयो ।
त्यस्तै राजापुरको वडा नम्बर ५ स्थित खेलमैदान र औद्योगिक क्षेत्रमा रहेको सार्वजनिक जग्गालाई वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले प्लटिङ्ग गरी घडेरी बनाएर बेच्न थालेको भन्दै उक्त कार्य तत्काल रोक्का गर्नु पर्ने सदस्यहरुको माग गरेको छ
यस्तै यो त पछिल्लो उदाहरण मात्र रहेको र यतिबेला सबैतिर यसरी नै नदीजन्य पदार्थका ठेकदारले राज्यका प्राकृतिक स्रोतमाथि लुट मच्चाइएको प्रवक्ता रोकाले भन्नु भयो । त्यस्तै उहाँले दुःख र बिडम्बना धेरै ठाउँमा जनप्रतिनिधि र ठेकदारको मिलेमतोमा राज्यलाई लुट्ने काम भएको उहाँले आरोप लगाउनु भयो ।
त्यसैगरी गाउँपालिकामा बेथिति बढेपछि राजपुर गाउँपालिका प्रवक्ता एवं वडा नंं.६ का अध्यक्ष श्याम रोकाको नेतृत्वमा २१ जना कार्यपालिका सदस्यले माघ १४ गते पाँच दिने अल्टिमेटमसहित नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायत माग राखेर ज्ञापनपत्र बुझाउनु भएको थियो । पाँच महिना बितिसक्दा समेत गाउँ कार्यपालिकाको बैठक बस्न नसकेकोले तत्काल बैठक राख्नुपर्ने पनि उहाँहरुको प्रमुख माग रहेको छ ।
आर्थिक वर्ष ०७६/०७७ को योजनाहरुको उपभोक्ता समितिले काम गरिसकेको तर भुक्तानी रोकेकाले तत्काल भुक्तानी दिन पनि ज्ञापनपत्रमा माग गरिएको थियो । त्यस्तै साधारण नमुना माविको २०७७ साल कार्तिक ३ गते दुई तिहाइ भन्दा बढी अभिभावक हरुको भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेकोमा गाउँपालिकाले कार्यान्वय नगरेकाले तत्काल नयाँ समितिलाई कार्यान्वयन गर्न पनि माग उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।
त्यस्तै राजपुर गाउँपालिका स्थापना कालदेखि हालसम्म पनि सार्वजनिक सुनुवाई नगरेकोले पारदर्शी सार्वजनिक सुनुवाइ गर्न पनि माग गरिएको छ । आफ्ना माग पूरा गर्न बेवास्ता गरिएकाले अल्टिमेटम अनुसार १९ गते सोमबार बिहान गाउँपालिकामा तीनवटा ताला लगाइएको गाउँपालिका प्रवक्ता श्याम बहादुर रोकाले जानकारी दिनु भयो ।
