
Gfs
Pes
Sgr
Djs
Pbu
Ggp
Lnp
sbs
Rgp
Srbpu
Rgp1
pku
Unsku
cjs

Rgu
Ksm
Rsb
Pvg
Bbu
nsb
Ggd
Gst
Tsm
Ssm
Asm
Rgs
Sbs
Vor
Sls
Bbbpu
Hal
Rgu
Wsp

Jmb
Mks
Gsb
Ptm
Jmb
sab
Abd
Pls
Syp
Bml
Rpp
bbt
Rmb
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकता विरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने भएको छ ।
जागरण सभाको नाममा एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै उपत्यकास्तरीय प्रदर्शन गर्ने तयारी गरेको हो । सभा र प्रदर्शनमा करिब १ लाख नेता–कार्यकर्ता सडकमा आउने एमाले नेताहरूले बताएका छन् । काठमाडौँको भृकुटीमण्डमा हुने जागरण सभामा एमालेले उपत्यकाका तीन वटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने तयारी गरेको छ ।
त्यस्तै सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले जानकारी दिए ।
भट्टराईकै नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन भइसकेको छ । समितिको सहसंयोजकमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल छन् भने सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी छन् ।
त्यस्तै प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारकोे नेतृत्कर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो । जागरण सभा संयोजन समितिका सहसंयोजक एवं नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले मंसिर ७ गते उपत्यकाका तीन जिल्लाको एमाले तागत देखिने बताए ।
यस्तै ‘उपत्यकाका मंसिर ७ गतेको जागरण सभामा एक लाख हाराहारीमा एमाले नेता कार्यकर्ता सहभागी हुन्छन् भन्ने हाम्रो प्रारम्भिक अनुमान छ’,सहसंयोजक ढुंगेलले भने, ‘मंसिर ७ गते काठमाडौँ उपत्यका भित्रको एमाले तागत सडकमा ल्याउने काम हुन्छ ।’ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कात्तिक १० गते सरकारलाई खबरदारी गर्न काठमाडौँको भृकुटीमण्डमा खबरदारी सभा गरेको थियो । काठमाडौँपछि माओवादी केन्द्रले देशैभर (७५३ वटै) पालिकामा समेत खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।
त्यस्तै अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक प्रतिशोध साँधेर सहकारी प्रकरणमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरी अनावश्यक दुःख दिएको भन्दै कात्तिक ३ गतेबाटै विरोध प्रदर्शन गर्दै आएको छ । प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरू सरकारको नीति र नियतमाथि प्रश्न उठाउँदै सडकमा ओर्लंदा सत्तारुढ दल समेत जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्न पुगेपछि दलहरूको पहिलो रोजाई सडक नै बने प्रस्ट देखिन्छ । विपक्षी राजनीतिक पार्टीहरूले खासगरी भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाइरहेका छन् ।
एमालेले पनि सोही शैलीमा प्रदर्शन गर्ने तयारी गरेर विपक्षीलाई जवाफ दिने माध्यम जागरण सभालाई बनाउने देखिन्छ । काठमाडौँपछि एमालेले देशैभर जागरण सभा आयोजना गर्ने नेता भट्टराईले जानकारी दिए ।
भट्टराईलाई ५ प्रश्न
१. जागरण कि शक्ति प्रदर्शन ?
सुशासन, शान्ति स्थायित्व र विधिको शासन स्थापित गर्ने कुरामा जनमत निर्माण गर्न जागरण सभा आयोजना गरिएको हो । विधिको शासनलाई उल्लङ्घन गर्ने, कानुनी राज नमान्ने र अराजकतातर्फ मुलुक उन्मुख गराउने, द्वन्द्वतर्फ समाजलाई लैजाने र अन्ततगोत्वा त्यो प्रवृत्ति बोकेका मानिसहरूले व्यवस्थाकै विरुद्धमा समेत आवाज उठाउने खालका प्रवृत्तिहरू देखा परेका छन् ।
त्यसलाई चिर्न नेपाली समाज,अहिलेको लोकतान्त्रिक प्रणाली,संविधान र यही व्यवस्थाको माध्यमबाट अघि बढ्न चाहन्छ भनेर जनतालाई बुझाउने हो । यो व्यवस्थामा दलहरूले सुधार्नुपर्ने कुरा सुधार्दै र सच्याउनुपर्ने विषयहरू सच्याउँदै अगाडि जान चाहन्छन् भन्ने सन्देश दिन पनि जागरण सभा आयोजना गरेका हौँ ।
२. एमाले आफैँले सरकारको नेतृत्व गरेको छ, अनि आफैँ सडक प्रदर्शनमा पनि जाँदैछ । यसलाई जनताले कसरी बुझ्ने ?
सरकारमा जाँदैमा सरकारप्रतिको जनताको अवधारणा के छ भनेर राजनीतिक दलले बुझ्न पाउँदैनन् भन्ने होइन । सरकारमा हुँदै निर्वाचनमा जानुपर्ने हुन्छ । जनतालाई शान्तिपूर्ण रूपमा हामीले गरेका राम्रा काम र अघि बढाउन खोजेका विचारहरूका बारेमा सुसूचित गर्न जनतामा पुग्ने कुरा जीवन्त राजनीतिक दलका लागि सदा–सर्वदा जानुपर्ने विषय हो । त्यही अन्तर्गत हामी त्यो बाटोमा जान लागेका हौँ ।
३. समाजमा बढ्दो अराजकता नियन्त्रण र कानुनको पालना गर्ने गराउने प्रमुख दायित्व सरकारको हुन्छ । अहिले प्रमुख प्रतिपक्ष दलहरूले सरकारलाई खबरदारी पनि गरिरहेका छन् । यही बेला एमालेले जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्न लागेको भनेर बुझिँदैन र ?
यो शक्ति प्रदर्शन होइन । अहिलेका विषयहरूका बारेमा जनतालाई सचेत गराउन खोजेका हौँ कि यसका विषयमा विभिन्न तानाबाना बुनिएका छन् । विभिन्न हिसाबबाट विभिन्न राजनीतिक दलका व्यक्तिहरू भेटघाट र कुराकानी गर्ने, त्योपछि आन्दोलन गर्छौं भनेर प्रणालीमाथि नै प्रश्न उठाउने प्रवृत्ति देखा परेका छन् ।
कतिपय ठाउँमा जातीय दंगा उठाउन खोज्ने तथा सामाजिक अराजकता फैलाउने प्रवृत्ति पनि देखा परेको छ । यस्ता कुराहरू हाम्रा लागि ठिक बाटो होइन, ठिक बाटोचाहिँ रोजेर ल्याएको यो संविधान, व्यवस्था र प्रणाली हो । अब यसैलाई सुदृढ गर्दै र सच्याउँदै अगाडि जाने बाटो नै उपयुक्त हो भन्ने सन्देश सभाले दिन लागेको हो ।
४. काठमाडौँमा जागरण सभा गरेर तपाईंहरूले दिन खोजेको सन्देश देशभर पुग्छ वा देशभर नै कार्यक्रम गर्ने हो ?
क्रमशः देशका अरु भागमा पनि कार्यक्रम गर्छौं । खासगरी सन्देश सभाका रुपमा कार्यक्रमलाई लिएर जाने हो । जनतालाई सुसूचित गराउने कानुनी बाटोमा सरकारले गर्छ भने सरकारले गरेका राम्रा कामबारे जनतालाई जानकारी गराउने दायित्व सरकारको नेतृत्व गर्ने पार्टीको पनि हुन जान्छ ।
५. सत्तापक्ष र प्रतिपक्ष सडकमा ओर्लंदा भविष्यमा मुठ भेडको सम्भावना हुँदैन ?
सडकमा जानु भनेको मुठभेड निम्त्याउनु होइन । मुठभेडका लागि मात्र सडकमा गइन्छ भन्ने कुरा नै गलत हो । शान्तिपूर्ण हिसाबले आफ्ना कुरा जनताका बिचमा राख्ने लोकतन्त्रमा सर्वमान्य अधिकार नै हो । यो अधिकार विपक्षी र सत्तापक्षले पनि पाउँछ ।रातोपाटी
