काठमाडौं । आज बिहान बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार आज बिहान पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको हो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार रहेका थिए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । ‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अरुको भने सनाखत हुन बाँकी छ,’ उनले भने । उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरु पनि थिए । तर कोको थिए भन्ने खुलेको छैन ।
त्यस्तै रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा एक/डेढ हप्ताअघि काठमाडौं आएकी थिइन् । काठमाडौंबाट फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको जानकारी पाएको प्रजिअ शर्माले बताए । ‘पुथा गाउँपालिकाको उपाध्यक्षले सधैं चढ्ने रा १ झ २०० नम्बरकै गाडी हो, त्यो गाडी आज बिहान बागलुङमा दुर्घटना भएको दुःखद खबर पाएँ’ प्रजिअ शर्माले भने, ‘दुर्घटनास्थलमा उपाध्यक्षको आईडी कार्ड पनि भेटिएको भन्ने जानकारी पाएको छु ।’
यस्तै रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो । अप्ठेरो भिरमा गाडी दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि खटाइएको प्रहरीले जनाएको छ ।