काठमाडौँ । मन्त्री भएपछि पहिलो भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
परराष्ट्र मन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग सोमबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट भएको जानकारी दिएकी छिन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताइन् ।
त्यस्तै नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको उनले उल्लेख गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी मन्त्री राणाको यो मन्त्री भएपछिको पहिलो भारत भ्रमण रहेकोे छ ।