काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।
कुल २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले ओलीको पक्षमा मतदान गरेका हुन् । विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रहेको छ । संसदमा आइतबार २६३ जना उपस्थित थिए ।
त्यस्तै प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले,जनता समाजवादी पार्टी,जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।
नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहेका हुन् ।