काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुरु हुने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
त्यस्तै उनका अनुसार बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । अनुशासन समितिले डा. ढकालमाथि अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।
बैठकमा सभापति लामिछानेले प्रतिवेदन पेश गर्ने र समितिको सिफारिसबारे छलफल गरी निर्णय गर्ने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए। प्रतिवेदनमाथि छलफल गर्नकै लागि दुई घण्टा समय निर्धारण गरिएकाले मंगलबार नै निर्णय आउने उनले बताए । अनुशासन समितिले गरेको सिफारिस केन्द्रीय समितिले हुबहु वा परिमार्जन गरी कार्यान्वयन गर्नसक्ने बुर्लाकोटीले बताए ।
त्यस्तै स्रोतका अनुसार अनुशासन समितिले डा. ढकाललाई पार्टीबाट निष्कासन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ। गत बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. ढकाललाई एक साताका लागि निलम्बन गरिएको थियो । आफूले तयार पारेको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल हुने बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने ढकालको माग पार्टीले अस्विकार गरेपछि उहाँ मुखमा मास्क र कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए ।
यस्तै आजको बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए।