Sidha Patra शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको छ ।

नेपालले आफ्नो तेस्रो खेलमा नामिबियालाई तीन रनले पराजित गरेको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एकसय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो ।

त्यस्तै अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गरेपछि नेपालको जित सम्भव भएको थियो । नेपाली टोलीका बलर करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । अर्को एक विकेट अविनाष बोहराले लिएका थिए। नामिबियाका लागि कप्तान जोनाथन स्मितले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । जन फ्राइलिंकले ३७ र कोट्जीले २५ रन जोडे । जेन ग्रिन २३ रनमा अविजित रहे । नामिबियाले अतिरिक्त रुपमा ११ रन पायो ।

पहिले ब्याटिङ गरेको नेपालका लागि भने कुशल मल्लले अर्धशतकीय पाली खेलेका थिए । उनले अविजित ५५ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३७ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए । १९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन्

यस्तै कुशल मल्लाका अतिरिक्त नेपालका लागि आरिफ शेखले पनि ३१ रनको योगदान गरे । गुलसन झाले पनि २६ रन बनाए । ओपनर अनिल साहले २३ रन बटुले । दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । प्रतिस जिसी एक रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा पनि आठ रन पायो । नामिबियाका बलर बेन सिकोंगोले तीन विकेट लिए । ज्याक ब्रासेलले पनि दुई विकेट हात पारे । रुबेन ट्रम्पलम्यान, जन निकोल लफ्टी एटन र बेनार्ड स्कोल्जले एक–एक विकेट लिए । जारी शृंखलामा नेपाल र नामिबिया दुबैले आफ्नो तेस्रो खेल खेलेका हुन् ।

त्यस्तै नेपाल यसअघि आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो । नामिबियाले भने तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नामिबिया आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

यस्तै शृंखलामा तेस्रो टोलीको रुपमा सहभागी नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । त्यसैले नेपालले जारी शृंखलाको फाइनलमा पुग्ने सम्भावना जिवित राख्न शुक्रबारको खेलमा नामिबियालाई हराउनैपर्ने अवस्था थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंकसहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन् ।

प्रतियोगिताको लिग चरणमा तीनवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । जारी शृंखलामा नेपालले आफ्नो अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नेदरल्यान्ड्स र नामिबियाबिच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल भने मंगलबार खेलिने छ । निकट भविष्यमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीनवटै राष्ट्र टी–२० विश्वकपमा छनोट भएका छन् ।

नामिबियाको पहिलो विकेट सोमपाल कामीले लिएका थिए । उनले नामिबियाका ओपनर ब्याट्सम्यान मलान क्रुगरलाई तीन रनको ब्यक्तिग स्कोरमा गुलसन झाद्वारा क्याच गराएका थिए । दोस्रो ओभरको तेस्रो बलमा क्रुगर आउट हुँदा नामिबियाले ११ रन बनाएको थियो ।

नामिबियाको दोस्रो विकेट करण केसीले लिएका थिए । उनले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिङ्गेनलाई १० रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । ५.३ ओभरमा माइकल आउट हुँदा नामिबियाले ३५ रन बनाएको थियो ।

नामिबियाको तेस्रो विकेट सोमपाल कामीले लिएका थिए । उनले नामिबियाका जिन पियर कोट्जीलाई आउट गरेका थिए । सोमपालले कोट्जीलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । सोमपालले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि कोट्जीले २२ बलमा चार चौकाको मद्दतले २५ रन बनाए । ७.२ ओभरमा कोट्जी आउट हुँदा नामिबियाले ५० रन बनाएको थियो ।

नामिबियाको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले नामिबियाका कप्तान जोहानेश जोनाथन स्मितलाई अनिल साहद्वारा क्याच गराएका थिए । कप्तान स्मित अर्धशतक बनाउँदै आउट भएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २६ बलको सामना गरी दुई छक्का र ६ चौका प्रहार गरेका थिए । १५.१ ओभरमा स्मित आउट हुँदा नामिबियाले एक सय ३३ रन बनाएको थियो ।

नामिबियाको पाँचौँ विकेट पनि दीपेन्द्रले नै लिएका थिए । उनले नामिबियाका जन निकोल लफ्टी एटनलाई सन्दीप जारोद्वारा क्याच गराएका थिए । एटनले खातासम्म खोल्न पाएनन् । १५.२ ओभरमा उनी आउट हुँदा नामिबियाले एक सय ३३ रन बनाएको थियो । नामिबियाको छैटौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले मैदानमा जमिसकेका नामिबियाका ब्याट्सम्यान जन फ्राइलिंकलाई बोल्ड गरेका थिए । फ्राइलिंकले पेभेलियन फर्किनुअघि २९ बलमा दुई छक्का र एक चौकाको मद्दतले ३७ रन बनाएका थिए । १६.१ ओभरमा उनी आउट हुँदा नामिबियाले एक सय ३५ रन बनाएको थियो ।

नामिबियाको सातौँ विकेट करण केसीले लिएका थिए । उनले नामिबियाका ब्याट्सम्यान रुबेन ट्रम्पलम्यानलाई सन्दीप जोराद्वारा क्याच गराएका थिए । ट्रम्पलम्यान १२ बलमा एक छक्काको मद्दतले १४ रन बनाउँदै आउट भएका थिए । अन्तिम ओभरमा पाँचौँ बलमा उनी आउट हुँदा नामिबियाले एक सय ७३ रन बनाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । आसिफलाई नामिबियाका बलर बेन सिकोंगोले बोल्ड गरेका थिए । दोस्रो ओभरको पहिलो बलमा आसिफ आउट हुँदा नेपालले केवल पाँच रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी नौ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले कप्तान जोहोनेश जोनाथन स्मितद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा रोहित आउट हुँदा नेपालले ३० रन बनाएको थियो । नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल साहलाई गुमाएको थियो । उनी १७ बलमा तीन चौकाको मद्दतले २३ रन बनाउँदै आउट भएका थिए । अनिललाई नामिबियाका बलर जन निकोल लफ्टी एटनले विकेटकिपर जेन ग्रिनद्वारा क्याच गराएका थिए । सातौँ ओभरमा अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५८ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका थिए । ७.२ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको थियो । नेपालले पाँचौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेख ३१ रन बनाउँदै आउट भएका थिए । उनले २४ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले जन फ्राइलिंकद्वारा क्याच गराएका थिए । १६.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४९ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । दीपेन्द्र आठ बलमा दुई चौकाको मद्दतले १६ रन बनाउँदै आउट भएका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनलाई बेन सिकोंगोले एलबीडब्लूको धरापमा पारेका थिए । १८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६७ रन बनाएको थियो । नेपालले सातौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । उनी तीन बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई सिकोंगोले एटनद्वारा क्याच क्याच गराएका थिए । १९औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ७५ रन बनाएको थियो ।

त्यस्तै नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी तीन बलमा दुई रन बनाउँदै आउट भएका थिए । उनलाई नामिबियाका बलर ट्रम्पलम्यानले सिकोंगोद्वारा क्याच गराएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७८ रन बनाएको थियो ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]