
Sdc
Asbus
Ksbus
Ksbus
Lnp
Ggp
Rgp
Ggp
Msbus


दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर र लमही नगरपालिका वडा नम्बर ८ सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्की पुलले लामो समयपछि निकास पाएको छ ।
कालिपुरदेखि र सतबरिया जानका लागि राप्ती नदीमा पक्की पुल नहुँदा वर्षौं वर्षदेखि दक्षिण भेगका नागरिकले सास्ती खेप्नुपरेको थियो । हरेक वर्ष असार महिना लागिसकेपछि ज्यानको बाजी राखेर डुङ्गाको भरमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो । त्यस्तै उक्त स्थानमा केहिँ वर्ष पहिले डुङ्गा पल्टिँदा ५ जना मानिसले अकालमा ज्यान समेत गुमाएका थिए ।
उक्त समस्यालाई मध्यनजर गर्दै राज्यले अनक कन्स्ट्रक्सन प्रालिको ठेक्कामा ६८ करोड लगानी गरेर २०७६ साल मंसिर महिनादेखि पक्की पुल निर्माण कार्यलाई थाल्नी गरेको थियो । कन्स्ट्रक्सनले करिब तीन वर्ष लगाएर २०७९ जेष्ठ महिनामै निर्माण कार्य सम्पन्न गर्यो तर सो पुल निर्माण कार्य सम्पन्न हुँदा साथ पुलबाट आवतजावत गर्न चार पाङ्ग्रे सवारीसाधनले बाटोको निकास नपाएपछि समस्या उत्पन्न भएको थियो ।
राजपुर गाउँपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपछि उक्त बाटोको तत्काल निकास दिन वडा र गाउँपालिकाका जनप्रतिनिधिहरु निरन्तर लागि परेका थिए । तर जग्गा धनी रामबहादुर यादवले आफ्नो जग्गाबाट कुनैपनि हालतमा निकास नदिने अडान राखेपछि जनप्रतिनिधिलाई फलामको चिउरा चपाउनु परेको थियो ।
त्यस्तै उक्त स्थानमा बर्खा लाग्दा बित्तिकै बाटो सबै हिलाम्मे हुने र आवागमनमा कठिनाइ हुने भएपछि स्थानीय र यात्रीहरुले व्यापक गुनासो गरेका थिए । गुनासोको आधारमा विभिन्न मिडिया टेलिभिजन, पत्रपत्रिका,अनलाइन पत्रीका रेडियोहरुमा समाचारहरु प्रसारण र प्रकाशन समेत भएका थिए ।
स्थानीय सरकारद्वारा उक्त बाटोलाई निकास दिनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालय दाङलाई राजपुर गाउँपालिकाले सहयोग मागेको थियो । पालिकाले सहयोग मागेपछि सो स्थानमा जिल्ला प्रमुख अधिकारी आएर विवादको बारेमा बुझेका थिए । जिल्ला प्रमुख अधिकारीले उक्त विवाद स्थानीय सरकारद्वारानइ मिल्ने सुझाव दिएपछि ३ नम्बर वडा अध्यक्ष र गाउँपालिका अध्यक्षलाई जिम्मा दिइएको थियो ।
त्यस्तै जिल्ला प्रमुख अधिकारीको सल्लाह अनुसार पालिकाले बाटो निकासको पहल कार्यलाई अघि बढाएको थियो । गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले वडा नम्बर ३ का वडाअध्यक्ष रामप्रसाद अहिरलाई तत्काल पहल गर्न आग्रह गरेपछि वडा अध्यक्ष र सदस्य सबै मिलेर पहल कार्यलाई अघि बढाएका थिए ।
करिब एक वर्षको लामो प्रयासपछि शुक्रबार आज उक्त बाटोले निकास पाएको हो । गाउँपालिकाको लगानीमा जेसिबीबाट ९ मिटर चौडाई,करिब एक सय मिटर लम्बाईको बाटोमा गिट्टी,बालुवा बिछाएर ग्राभेल गरिएको छ ।
जग्गा धनी रामबहादुर यादवलाई यस विषयमा बुझ्दा आफुले जिल्ला प्रमुख अधिकारी (सिडिओ) को सल्लाह सुझावका आधारमा स्थानीय पालिकाका जनप्रतिनिधिसंग समन्वयगरि आफ्नो जग्गाबाट निकास दिएको बताउनु भयो ।
त्यस्तै राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले उक्त बाटोको निकास समयमा दिन नसक्दा स्थानीय बासि र यात्रुहरुले पाएको दुखप्रति दुख व्यक्त गर्नु भएको छ । जे जस्तो भएपनि लामो समयको प्रयासपछि उक्त बाटोले निकास पाएकोमा आफू धेरै खुशी भएको बताउनु भयो । यस्तै अध्यक्ष बुढाथोकीले सो बाटो निकासीका लागि अहोरात्र खट्ने वडाका जनप्रतिनिधि र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

