
Ggp
Msbus
Ksbus
Sdc
Ksbus
Asbus
Lnp
Rgp
Ggp


दाङ । देउखुरीको गढवा गाउँपालिकाका नागरिकहरुले गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सूचना प्रभावकारी नभएको गुनासो गरेका छन् ।
राप्ती प्रेस मञ्चको सहजीकरणमा बिहीबार गढवा गाउँपालिका–७ को वडा कार्यालय मानपुरमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा,सुविधा तथा कार्यक्रमबारे पर्याप्त र समयमा जानकारी नपाउँदा कतिपय नागरिक सेवा तथा अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरेका हुन् ।
त्यस्तै,सार्वजनिक सुनुवाइमा नागरिकहरूले गाउँपालिकाको सेवा प्रवाहलाई अझै नागरिकमैत्री बनाउन सूचना प्रवाहको प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले गाउँ तथा वडा तहमा सञ्चालन हुने कार्यक्रम, बजेट, सेवा,योजना तथा आवश्यक प्रक्रियाबारे नागरिकलाई समयमै जानकारी गराउन सके स्थानीय सरकारप्रति नागरिकको पहुँच र विश्वास थप बढ्ने बताएका थिए ।
नागरिकहरूले सूचना प्रवाहका लागि टोल विकास संस्था, सामाजिक संस्था, सञ्चारमाध्यम तथा अन्य उपलब्ध माध्यमलाई प्रभावकारी रूपमा परिचालन गर्न सुझाव दिएका थिए । विशेषगरी गाउँपालिका वा वडा कार्यालयमा आउने सबै नागरिकले कार्यालयमै पुगेर मात्र सूचना लिनुपर्ने अवस्था अन्त्य गरी सूचना नागरिकसम्मै पुर्याउने संयन्त्र बनाउनुपर्ने उनीहरूको माग थियो । सार्वजनिक सुनुवाइमा शिक्षा क्षेत्र पनि नागरिकको महत्वपूर्ण चासोको विषय बनेको थियो ।
सहभागीहरूले गाउँपालिकाभित्रको गुणस्तरीय शिक्षाको अवस्था, सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि तथा शिक्षकको भूमिकाबारे प्रश्न उठाएका थिए । केही नागरिकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले निजी विद्यालयमा लगानी गरेको विषयसमेत उठाउँदै त्यसबारे गाउँपालिकाले आवश्यक निगरानी र स्पष्ट नीति अवलम्बन गर्नुपर्ने बताएका थिए ।
त्यस्तै स्वास्थ्य क्षेत्रका विषयमा पनि नागरिकहरूले प्रश्न तथा गुनासा राखेका थिए । विशेषगरी सर्पदंश उपचारका लागि आवश्यक एन्टिभेनमको उपलब्धता तथा अभावका विषयमा प्रश्न उठाउँदै नागरिकहरूले अत्यावश्यक औषधि तथा उपचार सामग्रीको उपलब्धता नियमित र भरपर्दो बनाउन गाउँपालिकाले ध्यान दिनुपर्ने बताएका थिए । औषधि खरिद प्रक्रियाबारे समेत सहभागीहरूले प्रश्न गरेका थिए । स्वास्थ्य संस्थामा आवश्यक औषधि समयमै उपलब्ध हुन नसक्दा सेवाग्राही प्रभावित हुनसक्ने भन्दै खरिद प्रक्रिया व्यवस्थित, पारदर्शी र आवश्यकता आधारित बनाउन नागरिकहरूले सुझाव दिएका थिए ।
कृषि क्षेत्रमा देखिएका समस्या र किसानले भोगिरहेका कठिनाइबारे पनि कार्यक्रममा जिज्ञासा राखिएको थियो । स्थानीयस्तरमा कृषि उत्पादन, किसानलाई उपलब्ध गराइने सेवा तथा कार्यक्रम र कृषि क्षेत्रमा विनियोजन हुने बजेटको प्रभावकारी कार्यान्वयनबारे नागरिकहरूले गाउँपालिकासँग जवाफ मागेका थिए ।
यसैगरी विकास निर्माणका योजना, लक्षित वर्गका कार्यक्रम, बजेटको कार्यान्वयन तथा गाउँपालिकाबाट प्रदान गरिने सेवाका विषयमा सहभागीहरूले प्रश्न तथा सुझाव दिएका थिए । स्थानीय तहले सञ्चालन गर्ने विकास निर्माणका काममा पारदर्शिता, गुणस्तर र नागरिकको सहभागितालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
सार्वजनिक खरिद प्रक्रियाको विषयसमेत कार्यक्रममा उठेको थियो । सहभागीहरूले गाउँपालिकाले खरिद गर्ने सामग्री तथा सेवामा प्रचलित कानुनी प्रक्रिया पूर्णरूपमा पालना गर्नुपर्ने भन्दै आवश्यकताअनुसार बोलपत्र आह्वान लगायतका प्रक्रिया अपनाउन सुझाव दिएका थिए । सार्वजनिक स्रोतबाट खर्च हुने रकमको सदुपयोग तथा खरिद प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने नागरिकको जोड थियो । नागरिकबाट उठेका प्रश्न तथा गुनासाको जवाफ गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, सम्बन्धित शाखाका प्रमुख तथा वडा अध्यक्षहरूले दिएका थिए ।
कार्यक्रममा नागरिकबाट आएका गुनासो तथा सुझावको जवाफ दिदै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिका तथा वडा कार्यालयमा देखिएका समस्या पहिचान गरी सुधार गर्दै सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष पोख्रेलले नागरिक र जनप्रतिनिधिबीचको समन्वय तथा सूचना प्रवाहको संयन्त्रमा कतै कमजोरी भएको महसुस भएको बताउँदै आगामी दिनमा त्यसलाई सुधार गरिने बताए । उनले गाउँपालिकाबाट प्रवाह हुने सूचना सबै नागरिकसम्म समयमै पुर्याउन टोल विकास संस्थालाई थप क्रियाशील बनाउने र आवश्यकता अनुसार विभिन्न माध्यमको प्रयोग गरिने बताए ।
“नागरिकबाट आएका गुनासा हाम्रा लागि सुझाव हुन् । नागरिकका गुनासा र प्रश्नलाई शिरोधार्य गर्दै देखिएका कमजोरी सुधार गरेर अगाडि बढ्छौँ,” अध्यक्ष पोख्रेलले भने । उनले गाउँपालिका तथा वडामा देखिएका समस्या नागरिकसँगै बसेर छलफल गरी समाधानको बाटो खोजिने बताए । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकले प्रत्यक्ष रूपमा उठाएका प्रश्न र गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने अध्यक्ष पोख्रेलको भनाइ थियो । उनले सेवा प्रवाहमा देखिएका कमजोरीलाई क्रमशः सुधार गर्दै गाउँपालिकाका कामलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गाउँपालिकाबाट प्रवाह हुने सेवा तथा कार्यक्रमका विषयमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले जानकारी तथा प्रस्तुति दिएका थिए । त्यस्तै राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीले नागरिक र र बहिर्गमन प्रतिवेदन प्रस्तुत गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता र महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
