
Sdc
Amb
ksbus


काठमाडौं । डेढ वर्ष अघि प्रक्षेपण स्पेसएक्सको फाल्कन ९ रकेटको एक हिस्सा (माथिल्लो भाग) बुधबार चन्द्रमाको सतहमा अनपेक्षित रुपमा ठोक्किएको छ ।
करिब ४,००० किलोग्राम तौल भएको र करिब ४५ फिट लामो यो रकेट खण्ड करिब ८,७०० किलोमिटर प्रति घण्टाको तीव्र गतिमा चन्द्रमाको ‘आइन्स्टाइन क्रेटर’ नजिकै ठोक्किएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् । यो घटनालाई अन्तरिक्षमा बढ्दै गएको मानव निर्मित फोहोरको एक गम्भीर उदाहरणको रूपमा हेरिएको छ । यो रकेट १५ जनवरी २०२५ मा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो । यसले फायरफ्लाई एरोस्पेसको ‘ब्लू घोस्ट’ मिसन १ र जापानी अन्तरिक्ष कम्पनी आईस्पेसको ‘रेजिलियन्स’ लुनार ल्यान्डरहरूलाई चन्द्रमातर्फ लैजाने जिम्मेवारी पूरा गरेको थियो ।
त्यस्तै,ल्यान्डरहरूलाई चन्द्रमाको कक्षमा सफलतापूर्वक पुऱ्याएपछि रकेटको माथिल्लो भागमा इन्धन सकिएको थियो र यो अन्तरिक्षमा नियन्त्रणहीन अवस्थामा घुमिरहेको थियो ।स्पेसएक्सका अनुसार सौर्य गतिविधि र चन्द्रमाको गुरुत्वाकर्षण बलको प्रभावका कारण यो रकेट खण्ड बिस्तारै चन्द्रमाको टक्करको बाटोमा पुगेको हो । यो टक्कर योजनाबद्ध नभई प्राकृतिक शक्तिहरूको कारणले भएको कम्पनीले स्पष्ट पारेको छ ।
टक्कर भएको समयमा चन्द्रमाको उक्त भागमा उज्यालो भएकाले पृथ्वीबाट टेलिस्कोपको सहायताले पनि सिधै टक्करको दृश्य देख्न कठिन थियो । यद्यपि, चिलीस्थित युरोपियन साउदर्न अब्जर्भेटरीको ‘भेरी लार्ज टेलिस्कोप’ ले टक्करपछिको प्रभावलाई वैज्ञानिक रूपमा प्रमाणित गरेको छ । टेलिस्कोपले टक्कर भएको केही मिनेटसम्म चन्द्रमाको सतहबाट सोडियम र लिथियम ग्यासको ठुलो मुस्लो निस्किएको पत्ता लगाएको छ ।
वैज्ञानिकहरूका अनुसार सोडियम चन्द्रमाको आफ्नै माटोबाट निस्किएको हो भने लिथियम रकेटको अवशेषबाट आएको हो । यस टक्करले चन्द्रमाको सतहमा करिब ६५ देखि ९० फिट चौडा र करिब १२ फिट गहिरो नयाँ खाडल बनाएको अनुमान गरिएको छ । यो दुर्घटनाले चन्द्रमामा थुप्रिँदै गएको मानव निर्मित फोहोरको सुरक्षा चुनौतीलाई पुन: चर्चामा ल्याएको छ । हालसम्म चन्द्रमाको सतहमा विभिन्न देशका रकेटका अवशेष र पुराना अन्तरिक्षयान गरी करिब ३,००० वस्तुहरू (करिब २०९ टन) जम्मा भइसकेका छन् ।
खगोलविद जोनाथन म्याकडोवेलका अनुसार, भविष्यमा नासाको आर्टेमिस मिशनअन्तर्गत मानवलाई चन्द्रमामा पठाउँदा र त्यहाँ स्थायी आधार शिविरहरू बनाउँदा यस्ता अनियन्त्रित रकेटका टुक्राहरूले ठुलो क्षति पुऱ्याउन सक्छन् । चन्द्रमामा पृथ्वीको जस्तो सुरक्षात्मक वायुमण्डल नभएका कारण साना टुक्राहरूले पनि ठुलो विस्फोट गराउन सक्ने जोखिम रहन्छ ।
टक्करको वास्तविक असर र नयाँ बनेको क्रेटरको विस्तृत विवरण लिन नासाको ‘लुनार रिकन्नेसेन्स अर्बिटर’ र दक्षिण कोरियाको ‘दानुरी’ स्पेसक्राफ्टले त्यस क्षेत्रको निरीक्षण सुरु गरेका छन् । आगामी केही हप्ताभित्र यी अन्तरिक्षयानले खिचेका हाई-रेजोलुसन तस्बिरहरूबाट चन्द्रमाको सतहमा भएको क्षतिको यकिन हुनेछ बताइएको छ ।
त्यस्तै,यस घटनाले पृथ्वीलाई भने कुनै खतरा नरहेको नासाले स्पष्ट पारेको छ । स्पेसएक्सले नासासँग मिलेर भविष्यका मिसनहरूमा रकेटका अवशेषहरूलाई सुरक्षित रूपमा विसर्जन गर्ने प्रविधिमा काम गरिरहेको जानकारी दिएको छ ।
