
ksbus
Sdc
Amb


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई लक्षित गरी ट्राफिक सचेतना तथा लागू पदार्थ दुर्ब्यसन नियन्त्रण तथा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार आज सम्पन्न भएको छ ।
कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका इन्चार्ज सई मधु थापाले ट्राफिक नियमहरुको पालना,सुरक्षित रुपमा सडक प्रयोग गर्ने तरिका तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बन्न आग्रह गरे ।
त्यसैगरी,इलाका प्रहरी कार्यालय गढवाका सहायक निरीक्षक (असई) नर बहादुर घर्तीले लागू पदार्थ दुर्ब्यसनका शारीरिक, मानसिक तथा सामाजिक असर,त्यसमा फस्ने कारण,बच्ने उपाय तथा नेपालको प्रचलित कानुनअनुसार हुने कानुनी कारबाही बारे विस्तृत जानकारी दिए । साथै उनले बालविवाहका नकारात्मक प्रभाव, यसको न्यूनीकरणका उपाय तथा विद्यमान कानुनी व्यवस्थाबारे जानकारी गराउँदै बालविवाह अन्त्यका लागि विद्यार्थीहरू स्वयं सचेत र सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमको समापनमा विद्यालयका सहायक प्रधानाध्यापक दिल बहादुर शाहीले प्रहरी टोलीप्रति आभार व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरुमा अनुशासन, जिम्मेवारीबोध, सामाजिक चेतना तथा सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले ट्राफिक सचेतना,लागू पदार्थ दुर्ब्यसनका जोखिम, बालविवाहका बेफाइदा तथा कानुनी व्यवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै यस्ता कार्यक्रमले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए ।
विद्यालयले विद्यार्थीहरुमा सुरक्षित,सभ्य र जिम्मेवार जीवनशैलीको विकास गर्न यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमापनि निरन्तरता दिने जनाइएको छ ।

