
Sdc
Amb
Dbc


अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले वरिष्ठ अधिवक्ता, समाजसेवी तथा नेकपा एमालेका अग्रज नेता टंकप्रसाद पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पोखेरेलका पिता समेत रहेका पोखरेलको श्रद्धाञ्जली कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, कानुन व्यवसायी, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । अर्घाखाँचीको साविक छत्रगञ्ज गाविस-८ हाल छत्रदेव गाउँपालिका-५ मा १९९४ साल माघमा जन्मिएका पोखरेल कानुन व्यवसाय, समाजसेवा र वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित रहेका थिए । उनले करिब आठ दशक कानुन व्यवसायमा सक्रिय रहँदै न्यायिक सेवाको विस्तार र कानुनी सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
नेपाल बार एसोसिएसन अर्घाखाँचीका संस्थापक अध्यक्ष तथा तीन कार्यकाल अध्यक्ष रहेका उनले नेपाल सरकारका दुई कार्यकाल वैतनिक वकिलका रूपमा समेत सेवा दिएका थिए । तत्कालीन पञ्चायती व्यवस्थाका बेला राजनीतिक मुद्दामा पक्राउ परेका वामपन्थी नेताहरूको पक्षमा निडरतापूर्वक बहस पैरवी गर्दै उनि वामपन्थी धारका प्रखर अधिवक्ताका रूपमा स्थापित भएका थिए । उनको कानुनी फर्मबाट धेरै कानुन व्यवसायी र लेखापढी व्यवसायी तयार भएका छन् ।
पोखरेलले कानुन व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएका थिए । उनि नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीको जिल्ला समितिमा तीन कार्यकाल सक्रिय रहेका थिए भने प्रकाश सचेतन समूह (प्राग) को अध्यक्षका रूपमा पनि लामो समय नेतृत्व गरेका थिए । अर्घाखाँची सदरमुकामसम्म मोटरबाटो विस्तार गर्ने अभियानमा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो ।
त्यस्तै,उनको निधनप्रति राजनीतिक दल, कानुन व्यवसायी, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै कानुन, राजनीति र समाजसेवाका क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च सम्मान गरेका छन् ।
