
Mbf
Ges
Dbc
Sdc
Pbu
snmbs
Snmbs
Dpm
dpm
Snmbs
Gesld


काठमाडौं । पछिल्लो समय वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरीको पछिल्लो सूचना अनुसार कास्कीको मादी गाउँपालिका–२, ज्याम्दीमा रहेको पोखरा–ताङतिङ सडकखण्ड गएरातिदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिका–३, काउलेमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरुद्ध बनेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा अरनिको राजमार्ग पनि पहिरोका कारण गएरातिदेखि नै पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै,रोल्पाको परिवर्तन गाउँपालिका–१, खोलावाङमा रहेको घोराही–रुकुम शहीद मार्ग तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, डुड्खोलाको सालझण्डी–ढोरपाटन सडकखण्ड हिजोदेखि पूर्ण रूपमा अवरुद्ध छन् ।
मकवानपुरको थाहा नगरपालिका–८, स्यार्चेडाँडामा कान्तिलोकपथ पनि अस्ति शनिबारदेखि पहिरोका कारण बन्द रहेको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी (बीपी राजमार्ग) सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै गएको जेठ २२ गतेदेखि गाडी चलाउन रोक लगाइएको छ । यसअघि इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षा निरन्तर भइरहेकोले पहिरो तथा बाढीको जोखिम भएका सडकमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
