
Srbpu
Lnp
Unsku
pku
Rgp1
Ggp
Pbu
Rgp
Sgr

Ksm
Ssm
Rgs
Wsp
nsb
Tsm
Bbbpu
Rgu
Sbs
Vor
Pvg
Sls
Asm
Rgu
Gst
Bbu
Rsb
Ggd
Hal

Mks
bbt
Jmb
Gsb
Rpp
Ptm
Syp
Abd
Rmb
sab
Jmb
Bml
Pls
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन सीता जयन्ती मनाउने गरिन्छ । यस दिनलाई ‘पावन नवमी’ पनि भनिन्छ । वैदिक सनातन हिन्दू धर्ममा आस्था राख्ने धर्मावलम्बीहरूले रामायणकी मुख्य पात्र तथा हिन्दू आस्थाकी केन्द्रविन्दुका रूपमा मानेर सीताको जयन्ती मनाउने गर्दछन्।
पुष्य नक्षत्रमा जन्मिएकी सीता सनातन दर्शनकी एक महान् नारी दृष्टान्त हुन्, जसको नाम सदासर्वदा लिइन्छ। सीता उत्पत्तिको कथा पद्मपुराण र भविष्यपुराण (सीतानवमी व्रत माहात्म्य) मा विस्तारमा वर्णन गरिएको छ ।
त्यस्तै संस्कृत शब्दकोशमा ‘सीता’ को अर्थ हलोले जोत्दा जमिनमा परेको डोब, जोतिएको जमिन वा हलोको फालीबाट जमिनमा बनेको रेखा भनिएको छ । सीताको जन्मका बारेमा वाल्मीकि रामायण, आनन्द रामायण, अद्भुत रामायण, अध्यात्म रामायण, कम्ब रामायण (तमिल रामायण), देवीभागवत आदि पुराणहरूमा फरक-फरक कथाहरू भेटिन्छन् ।
किंवदन्ती, रामायण र देवीभागवत पुराणअनुसार विश्वकर्मा (मय) की छोरी मन्दोदरीसँग विवाह हुँदा रावणले ‘पहिलो सन्तानका कारण वंश नाश हुन्छ’ भन्ने सुनेकाले जन्मिनासाथ कन्यालाई टाढा जनकपुरमा लगेर गाडेको थियो । अद्भुत रामायणअनुसार रावणले ऋषिहरूबाट करका रूपमा रगत असुल गर्दथ्यो । एक ऋषिले सधैँ कुशको टुप्पाबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे। रावणले त्यो घैँटो चोरेर उक्त दूधजति आफ्नै घैँटामा भरेको थियो । मन्दोदरीले आत्महत्या गर्ने उद्देश्यले त्यही रगत मिसिएको दूध खाइन् र उनको गर्भ रहन गयो। उक्त गर्भलाई उनले जमिनमुनि गाडिदिएकी थिइन् । पछि राजा जनकले हलो चलाउँदा सीतालाई फेला पारेका हुन् ।
आनन्द रामायणको कथाअनुसार मिथिला भूमिमा एक ब्राह्मणले बाकसमा कन्या भेट्टाए र राजा जनकलाई दिए । उक्त बाकस मिथिलामा रावणले नै गाडेका थिए । जमिनमा गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्, ‘म फेरि लङ्का आई, तँ र तेरो वंशलाई सखाप पार्नेछु।’ त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभएको थियो । उक्त शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । सुखसयलमा हुर्केकी सीता पतिसँग वनवास अनि कठोर बसाइँ हुँदै लङ्कामा रावणको अधीनमा समेत बसेकी थिइन् । सीताको जीवनमा एउटा उदाहरणीय उतारचढाव पाइन्छ; उनका हरेक निर्णयले मानव जातिलाई ज्ञान र सहनशीलता सिकाएको छ ।
त्यस्तै आज जानकी मन्दिरमा सीता र रामको संयुक्त पूजा-अर्चना गरिन्छ। आजको दिन व्रत बस्ने, कथा श्रवण गर्ने, धार्मिक ग्रन्थ पाठ गर्ने, आरती गर्ने तथा सत्य र मर्यादाको स्मरण गरिन्छ। साथै, स्थानीय परिकार बनाएर प्रसादका रूपमा ग्रहण गरिन्छ । सीताको जीवनलाई आदर्श नारी, पतिव्रता, धैर्यशील र त्यागमयी रूपको प्रतीक मानिन्छ, जसले आस्थावान् मानिसहरूलाई नैतिक जीवनतर्फ प्रेरित गर्छ । सीता जयन्तीको अवसर पारेर ठूलो सङ्ख्यामा भक्तजनहरू जनकपुर जाने गर्दछन् । छिमेकी मुलुक भारतलगायत अन्य देशहरूबाट पनि भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्दछ । यसले गर्दा पर्यटन प्रवर्द्धन हुनुका साथै यातायात र होटेल व्यवसायमा पनि चहलपहल बढ्ने गर्दछ ।रातोपाटी
