
Rgp
Ggp
Lnp
Lks
lnp
Asb
Sgp
Jns
Usb
Rgp
ksb
Dus
Rgp
Ggp
Rgp

lms

दाङ । देउखुरीको गढवा गाउँपालिकामा थप दुई स्थानमा दूध संकलन केन्द्र स्थापना गर्ने विषयमा छलफल सम्पन्न भएको छ ।
गढवामा सञ्चालित भिटा परियोजना अन्तर्गत गठन भएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाको दुई स्थानमा सहायक दूध संकलन केन्द्र स्थापना गर्ने तयारी गरेको हो । हाल गढवा-६ गढवा बजारमा दूध संकलन तथा बिक्री केन्द्र सञ्चालन हुँदै आएको छ । जसले दूध उत्पादन किसानलाई दूध बिक्रीमा सहजता पुर्याउँदै आएको छ । यसले विशेषगरी भैंसीपालक किसानहरुलाई भैंसी पालन व्यवसायलाई व्यवसायिक रूपमा अघि बढाउन मद्दत पुगेको छ ।
त्यस्तै गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष शोभा रावत क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य र वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीको विशेष उपस्थितिमा दुई स्थानमा सहायक दूध संकलन केन्द्र स्थापना सम्बन्धी छलफल भएको सहकारीका व्यवस्थापक रम्भुनाथ चौधरीले जानकारी दिए ।
छलफल अनुसार गढवा गाउँपालिका वडा नम्बर २ पचहिया र वडा नम्बर ४ अजगढवा (रामनगर) मा दूध संकलन केन्द्र स्थापना गरिनेछ । छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भने,“गढवा गाउँपालिकामा पशुपालन र दुग्ध उत्पादनलाई आयआर्जनको प्रमुख माध्यमका रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो । दूध संकलन केन्द्र किसानको घर नजिकै स्थापना हुँदा किसानको समय, खर्च र मेहनत जोगिन्छ । यसले दुग्ध उत्पादन बढाउन र किसानको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउनेछ । गाउँपालिकाले सहकारी र साझेदार संस्थासँग सहकार्य गर्दै कृषकमुखी कार्यक्रमलाई निरन्तरता दिनेछ ।”
त्यस्तै अहिले गढवा बजारमा मात्र दूध संकलन केन्द्र सञ्चालन हुँदा वडा नम्बर १, २, ३, ४ र ५ का किसानलाई दूध बिक्री गर्न टाढा जानु पर्ने बाध्यता रहेको छ । नयाँ केन्द्र स्थापना भएपछि ती वडाका भैंसीपालक किसानहरूलाई दूध बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ भने वडा नम्बर ५, ६ र ७ का किसानहरु गढवा–६ को मुख्य केन्द्रबाट लाभान्वित हुँदै आएका छन् ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको सहकार्यमा सञ्चालित भिटा परियोजनाले कृषि,पशुपालन, महिला सशक्तिकरण,व्यवसायिक उत्पादन र उद्यमशीलता विकासमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत किसानलाई तालिम,कृषि तथा पशु सामग्री हस्तान्तरण,प्राविधिक सेवा,उन्नत जातका राँगा तथा बोका वितरण,खोर सुधार लगायतका कार्यहरु हुँदै आएका छन् ।
यस्तै कार्यक्रममा सामुदायिक सहजकर्ता कैलाश चौधरी,माया चौधरी,समाजका अगुवा,भैंसीपालक किसान लगायतको सहभागिता रहेको थियो ।
