
Ksbus
Ggp
Sdc
Ksbus
Msbus
Rgp
Asbus
Lnp
Ggp


दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाभित्र रहेका सबै विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिने योजना रहेको बताएका छन् ।
बिहीबार नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठान र द फ्रेड हल्लोज फाउन्डेसनको सहयोगमा सञ्चालित ‘एसटीसी–२’ परियोजना अन्तर्गत आँखा सर्जिकल केन्द्र सिसहनियाँमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले उक्त जानकारी दिएका हुन् ।
अध्यक्ष विष्टले आँखालाई मानव जीवनको अत्यन्त महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै पछिल्लो समय बालबालिकाले मोबाइल र कम्प्युटर धेरै प्रयोग गर्ने भएकाले आँखासम्बन्धी समस्या बढ्दै गएको बताए । उनका अनुसार तिलगंगा आँखा उपचार केन्द्रको सहकार्यमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत करिब १५ हजार विद्यार्थीको यसै वर्ष निःशुल्क आँखा जाँच गर्ने योजना रहेको बताए ।
त्यस्तै उनले तिलगंगा आँखा सर्जिकल केन्द्र सिसहनियाँले छाेटाे अवधिमै करिब २१ सय जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया सम्पन्न भएको उल्लेख गर्दै यसले यस क्षेत्रका नागरिकलाई ठूलो लाभ पुगेको बताए ।
उनले हातले गरिने मोतिबिन्दुको शल्यक्रिया निःशुल्क र फेको–फेसिन प्रविधिबाट गरिने शल्यक्रियामा ५० प्रतिशत छुट उपलब्ध रहेको कुरा गाउँका सामान्य नागरिकसम्म पुर्याउन सक्नु पर्ने बताए ।
कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत हरिबहादुर कार्कीले आँखा केन्द्र तथा बाह्य कार्यक्रम विभागका गतिविधि र प्रगतिबारे जानकारी दिए । उनले समुदाय लक्षित कार्यक्रमहरु अझ विस्तार गर्नुपर्नेमा जाेड दिए ।
सो अवसरमा वडा नम्बर ६ का अध्यक्ष दीपक कुमार चौधरी,वडा नम्बर ७ का अध्यक्ष सीताराम चौधरी, कार्यपालिका सदस्य रणबहादुर पुजाली,गीता चौधरी,सावित्री चौधरी,परियोजना व्यवस्थापक रवि गौतम,तिलगंगा आँखा सर्जिकल केन्द्र सिसहनियाँका इञ्चार्ज बिमलबहादुर बुढा क्षेत्री,जग्गादाता रेशम रावतसहित विभिन्न विद्यालयका प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
