
Ggp
Dus
Sgp
Asb
ksb
lnp
Jns
Rgp
Usb
Rgp
Lnp
Rgp
Rgp
Ggp
Lks

lms

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, कुलमोहरका गोपाल छन्त्याल करिब १२ वर्षदेखि बंगुर व्यवसायमा सक्रिय छन् । तर केही दिनअघि देखिएको अफ्रिकी स्वाइन फिभरका कारण उनको खोरमा रहेका करिब १ सय ७२ वटा बंगुर मरेपछि उनी निराश बनेका छन् । श्रीमान – श्रीमती दुवैको जीविकोपार्जनको मुख्य आधार बनेको बंगुर पालन एक्कासी ध्वस्त भएपछि छन्त्याल दम्पति अहिले आर्थिक संकटमा परेका छन् ।
त्यस्तै लमही नगरपालिका वडा नम्बर ५ कोलहीका बद्री चौधरीले सञ्चालन गरेको विके पोल्ट्री फर्म र हरि कृषि फर्ममा समेत माउ र बच्चा गरेर १ सय ८४ वटा बंगुर मरेका छन् । यस्तै ,वडा नम्बर ६ का जीतबहादुर चौधरीको प्रगतिशील बंगुर फर्ममा करिब २ सय वटा बंगुरको मरेका छन ।
लमही नगरपालिका वडा नम्बर ६ को छोटकी महरुवाका संजीव चौधरीका १८ वटा र कुलमोहरस्थित संयोग कृषि तथा पशुपंक्षी फर्ममा ५ वटा बंगुर मरेको किसान शामसोन गिरीले जानकारी दिएका छन् । पिडित किसानका अनुसार असार १ गतेदेखि बंगुरहरु भटाभट मर्न थालेका हुन । धेरै व्यवसायीक किसानको खोर अहिले पूर्ण रूपमा रित्तो छ । वडा नम्बर ४ को बलामपुरमा पनि किसानका बंगुर मर्न थालेको किसानहरुले जानकारी दिएका छन् ।
लमही नगरपालिका पशु शाखाका पशु सेवा प्राविधिक प्रकाश पाण्डेका अनुसार नगरपालिका भित्रका सबै वडामा अफ्रिकी स्वाइन फिभरको प्रभाव देखिएको छ । “यो रोगको कुनै औषधि वा भ्याक्सिन छैन । एक पटक लागेपछि संक्रमित बंगुरलाई बचाउन सकिँदैन । नियन्त्रणका लागि संक्रमित र सम्पर्कमा आएका सबै बंगुरलाई छुट्टै व्यवस्थापन गरेर राख्नुपर्छ,” पाण्डेले बताए ।
त्यस्तै किसानहरु अहिले ठूलो आर्थिक संकटमा छन । बुधबार पिडित किसानहरूको एक टोलीले लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख श्याम नारायण चौधरीलाई भेटी क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरेका छन । “अहिलेसम्म करोडौं रुपैयाँको क्षति व्यहोरेका छौं, किसानका समस्या स्थानीय सरकारले सम्बोधन गरिदिनु पर्ने किसानहरूको माग थियो । नगर प्रमुख जिल्ला बाहिर रहेकाले कार्यबाहक प्रमुख चौधरीले समस्या सम्बन्धित निकायमा पुर्याइने र समाधानका लागि पहल थालिने आश्वासन दिएका छन ।
यस्तै किसानका हजारौं बंगुर मरेपछि लमही नगरपालिका पशु शाखाले नमूना संकलन गरी केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाएको थियो । प्रयोगशालाले मृत्युको कारण अफ्रिकी स्वाइन फिभर नै भएको पुष्टि गरेको छ । वडा नम्बर ६ मा मात्रै सयौं बंगुर मरेपछि पशु सेवा विभाग, काठमाडौंबाट चिकित्सक टोली खोर अनुगमनका लागि कुलमोहर पुगेर फर्किएको छ ।
