
Lks
Jns
Ggp
Rgp
Sgp
Ggp
Dus
Dbs
Rgp
ksb
Rgp
Rgp
Asb
lnp
Usb
Pbu
Lnp


दाङ । देउखुरीको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा शनिबार आयोजित पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श शिविरमा डेढ सय भन्दा बढी महिलाहरुले सेवा लिएका छन्।
राप्ती गाउँपालिका,स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) र ओसिसारा स्वास्थ्य परामर्श केन्द्र बुटवलको संयुक्त आयोजनामा तथा ए वान केपीएल हेल्थ डायग्नोस्टिक्स, लुम्बिनी राउण्ड टेबल १६ क्लब र सिसहनियाँ उद्योग वाणिज्य संघको सहकार्यमा शिविर सम्पन्न भएको हो।
शिविरमा १ सय ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको आयोजकले जनाएका छन् । शिविरमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रायश्चित श्रेष्ठ, डा. शर्मिला शर्मा, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. के.बी. श्रेष्ठ, रेडियोलोजी विशेषज्ञ डा. तृष्णा श्रेष्ठ, जनरल सर्जन डा. नविन श्रेष्ठ, हाडजोर्नी तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ, प्याथोलोजिस्ट रजनी राना, एलिना गुरुङ, बीनिता थापा , शुष्मा श्रेष्ठ लगायतको चिकित्सकहरुकाे टोलीले सेवा प्रदान गरेका थिए ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पछिल्लो समय क्यान्सरजस्ता नसर्ने घातक रोगहरूको जोखिम बढिरहेको उल्लेख गर्दै यस्ता रोगहरूको प्रारम्भिक पहिचान तथा रोकथामका लागि यस्ता स्वास्थ्य शिविरहरु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले भने, “अब उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्छ। यस्ता शिविरहरूले रोगको सुरुवाती अवस्था पत्ता लगाउन मद्दत गर्छन्,जसले उपचारलाई सहज र कम खर्चिलो बनाउँछ।” रोगबाट बच्न स्वास्थ्य शिक्षा,खानपिन र जीवनशैली सुधारमा पनि ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो।
मन्त्री सारुले प्रदेश सरकारले मुटु,मिर्गौला र क्यान्सरजस्ता दीर्घरोगहरुको निःशुल्क उपचारका लागि अधिकतम दुई लाख रुपैयाँसम्मको सहायता उपलब्ध गराउँदै आएको जानकारी दिए । साथै, आगामी दिनमा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनचेतना अभिवृद्धि र नियमित स्वास्थ्य परीक्षण कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाइने उल्लेख गरे ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएकाे प्रति चिन्ता व्यक्त गर्दै समयमै पहिचान गरी क्षति न्यूनीकरण गर्न पालिकाले अभियानकै रूपमा यस्ता शिविरहरू सञ्चालन गर्दै आएको जानकारी दिए । उनले भने, “स्वास्थ्य नै सम्पत्ति हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै रोग लागेपछि होइन,लाग्न नदिनेतर्फ केन्द्रित हुनुपर्छ। समयमै परीक्षण गरिए दीर्घरोगहरुबाट बच्न सकिन्छ।” अध्यक्ष विष्टले शिविरमा सहयोग पुर्याउने सम्पूर्ण संस्था,चिकित्सक र स्वास्थ्यकर्मीहरुप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी,स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, वडा नं.५ का अध्यक्ष देवप्रसाद चौधरी, वडा सदस्य गोविन्द बहादुर कुँवर क्षेत्री,रोशन चौधरी, ओसिसारा केन्द्रका सल्लाहकार सूर्यकुमार श्रेष्ठ, व्यवस्थापक गंगा कुमारी श्रेष्ठ,सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी,स्वास्थ्य शाखा प्रमुख नारायण राउत,राप्ती आधारभूत अस्पतालका प्रशासन प्रमुख धन बहादुर खड्का,मेसु डा.श्रवण चौधरी,हिको संस्थाका अध्यक्ष गरिबु चौधरी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी रामराज पौडेलले गरेका थिए ।

