
Pbu
lnp
Usb
Rgp
Asb
Lnp
ksb
Rgp
Dbs
Sgp
Dus
Jns
Ggp
Ggp
Lks
Rgp
Rgp


दाङ । लमही नगरपालिका वडा नम्बर–५,ले वडाभित्र रहेका अति विपन्न ११ घरधुरीलाई नि:शुल्क रुपमा खानेपानीका धारा जडान गरी औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।
दैनिक जीवनयापनमा अत्यधिक कठिनाइ भोगिरहेका,पानीको पहुँचबाट टाढा रहेका परिवारहरूलाई लक्षित गर्दै वडा कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो । खानेपानी सेवा हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले भनिन्, “पानी जीवनको आधार हो । आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको पहिलो जिम्मेवारी हो । आज हामीले अति विपन्न परिवारहरूलाई सुरक्षित र भरपर्दो खानेपानी सुविधा उपलब्ध गराउन सफल भएका छौँ, यो हामी सबैका लागि गर्वको विषय हो ।” उनले स्थानीय सरकारको प्रयास सबै वर्गका नागरिक लाभान्वित हुने खालको हुनुपर्नेमा जोड दिँदै भनिन्, “खासगरी पछाडि पारिएका, विपन्न र जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नु हाम्रो लक्ष्य हो, यो कार्यक्रमले त्यसै लक्ष्यलाई मूर्तरूप दिएको छ ।”
त्यस्तै कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले केही वडामा अझै खानेपानीको समस्या रहेको उल्लेख गर्दै ती वडाहरुमा प्राथमिकताका साथ खानेपानी सेवा विस्तार गरिने जानकारी दिए । उनले वडास्तरीय योजना निर्माण र कार्यान्वयनमा पारदर्शिता, समावेशिता र जनउत्तरदायिता आवश्यक रहेको उल्लेख गर्दै “लक्षित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने योजना प्राथमिकतामा राखिने बताए ।
यस्तै वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले वडाको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी अति आवश्यक खानेपानी सेवा विस्तार गरिएको जानकारी दिए । “स्थानीय जनप्रतिनिधिका रुपमा हामी जनता नजिकका सरकार हौं,” उनले भने, “विपन्न र पहुँचविहीन नागरिकलाई सेवामा जोड्ने हाम्रो दायित्व हो ।” उनका अनुसार विन बहादुर केसी वडा अध्यक्ष भएको समयमा करिब ३१ घरधुरीलाई निःशुल्क धारा जडान गरिएको थियो । “खानेपानी पहुँचमा पछि परेका समुदायलाई लक्षित गरेर सामाजिक न्याय सुनिश्चित गर्ने हाम्रो प्रयास हो,” सुवेदीले थपे ।
यसपटक निःशुल्क धारा प्राप्त गर्ने घरपरिवारमा लमही गल्लीका रमेश चौधरी,कृष्ण प्रसाद चौधरी, लमही बजारकी सुनिता बुढाथोकी,आनन्दनगरकी जानुका वैदिक,दुखिराम चौधरी,कोलहीका दिल बहादुर चौधरी,फिर्ता कुमारी चौधरी,गोरक्ष टोलकी सरिता चौधरी,न्युरोडकी कुवारी केसी,बयलडाँडाका चैतु चौधरी र सुनखोलीका मोहम्मद अमिर रंग्रेज रहेका छन् ।
धारा पाएका स्थानिय बासिन्दाहरुले जीवनमा पहिलोपटक घरमै धाराबाट पानी पिउन पाउँदा अत्यन्त खुसी व्यक्त गरेका थिए । उनीहरुले वडा कार्यालयलाई धन्यवाद दिँदै यस्ता सेवा आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन । सो क्रममा लमही खानेपानीका अध्यक्ष सनम कुमार पौडेल सहितको पदाधिकारीको टोली र लमही नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
