
Pbu
Jns
Usb
Lks
lnp
Ggp
Sgp
ksb
Dus
Rgp
Dbs
Rgp
Asb
Rgp
Ggp
Lnp
Rgp


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी र वडा नम्बर २ कटेशनाला क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्न थालेपछि राप्ती प्रेस मञ्चले ती क्षेत्रको स्थलगत रिपोर्टिङ गरी सुरक्षा व्यवस्था मजबुद बनाउन माग गरेको छ ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अगुवाइमा शुक्रवार मञ्चका पदाधिकारी तथा सदस्यहरुको टोलीले हालै चोरी भएका घरहरुको निरीक्षण गर्दै प्रत्यक्ष रुपमा अवस्था अवलोकन गरेको हो । घटनास्थलको अवलोकनपछि सो टोलीले इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख पुष्करसिंह ऐरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ हेडक्वाटर ज्वालामाईगणका कार्यालय प्रमुख एसपी मनोज धिताललाई चोरी भएको स्थानमा सुरक्षागस्ती बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
त्यस्तै मञ्चले पाखापानी र कटेशनाला क्षेत्रमा नियमित रात्रीकालीन गस्ती तथा सुरक्षाकर्मीको उपस्थिति मजबुत बनाइनुपर्ने,हालसम्म भएका चोरीका घटनाहरूमा अनुसन्धानलाई तीव्र पार्दै दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाइनुपर्ने, स्थानीय जनप्रतिनिधि तथा समुदाय सँग समन्वय गरी सुरक्षा सचेतना तथा निगरानी समूह गठन गर्न प्रोत्साहन गरिनुपर्ने र स्थायी रूपमा सुरक्षा पोष्ट स्थापनाको सम्भाव्यता अध्ययन गरिनुपर्ने माग समेत गरेको छ । साथै स्थानीयवासीसँग समन्वय गरी अपराध नियन्त्रणमा सक्रिय भूमिका खेल्न समेत अनुरोध गरिएको छ ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीले भने, “चोरीका घटना दिनदिनै बढिरहेको अवस्थामा प्रहरी प्रशासनको गस्तीलाई अलि बढाउनु पर्ने आवश्यक देखिन्छ, हामीले स्थलगत रूपमा समस्या देख्यौं र तुरुन्तै प्रहरीलाई यसबारेमा औपचारिक रूपमा जानकारी गराएका छौं ।” ध्यानाकर्षण पत्र बुझ्दै कार्यालय प्रमुखद्धय ऐरी र धितालले चोरी नियन्त्रणका लागि सुरक्षा गस्तीलाई व्यापक रुपमा परिचालन गरिएको बताएका छन् । उनीहरुले समुदायको सहकार्यमा गस्ती अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । मञ्चले स्थानीय स्तरमा बढ्दो आपराधिक गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै सञ्चार क्षेत्रबाट पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जनसुरक्षा सुनिश्चित गर्न सरोकारवाला निकायहरूसँग समन्वयमा काम गर्दै आएको बताएको छ ।
सो क्षेत्रहरूमा चोरीका घटनाहरू दिनप्रतिदिन बढ्दै जाँदा स्थानीय बासिन्दाहरू त्रसित बन्दै रातभर जाग्रम बस्नु पर्ने अवस्था आएको छ । रातको समयमा घरमा ताल्चा लगाई नजिकै काममा गएका बेला वा घरमै रहेका बेलामा समेत घर फोरेर सुनचाँदी, नगद लगायत धनमाल चोरी हुने घटनाहरू क्रमश बढ्दै गइरहेको छ । गत जेठ २१ गते राप्ती गाउँपालिका–१ पाखापानी निवासी मनकुमारी सुनारको घर कोठाबाट दराज फोडेर स्मार्ट घडि १ वटा, र नगद १ हजार ४ सय चोरी भयो,त्यस्तै सोही मितिमा सोही ठाउँ निवासी टिका विश्वकर्माको को घरबाट नगद ४ हजार ५ सय र सुनको झुम्का १ थान र सोही ठाउँकै लक्ष्मी सुवेदीको घरमा चोरीको प्रयास भएको थियो ।
त्यस्तै जेठ २५ गते कटेशनालामा धनीराम पन्थीको घरमा डेरा गरि बस्ने शारदा रानाको कोठामा १ थान मंगलसुत्र, १ जोडी बाला, २ थान औठी, बच्चाको सुनको पास्नी सेट चोरी भएको थियो । भने जेठ २४ गते राप्ती गाउँपालिका–२ मुक्त कमैया बस्ती निवासी रविना चौधरीको घरबाट नगद ४० हजार चोरी भएको थियो ।
