
lnp
Ggp
Rgp
Usb
Asb
Lks
Rgp
ksb
Rgp
Jns
Sgp
Dus
Lnp
Pbu
Dbs
Rgp
Ggp


दाङ । हुलाकी राजमार्ग अन्तर्गत कालाकाटे–सिक्टा सडक खण्डमा लामो समयदेखि निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति जनाउँदै राजपुर गाउँपालिका वडा नम्बर– ७ मा तदर्थ संघर्ष समिति गठन गरिएको छ ।
जेष्ठ २६ गते (आइतवार) राजपुर–७ का वडाध्यक्ष पुस्कर वलीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो । स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको उक्त समितिले सडक निर्माण कार्यको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक दबाब सिर्जना गर्नको लागि संघर्ष समिति गठन गर्नुपरेको जनाएको छ ।
संघर्ष समितिका संयोजक वलीले भने, “सडक निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । वर्षा याममा झन समस्याहरू चुलिन्छन्, त्यसैले हामी अब चुप बस्दैनौँ।”
तदर्थ समितिले चाँडै हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ। ज्ञापनपत्रमार्फत सडक निर्माण कार्यमा के–कसरी ढिलाइ भएको हो र त्यसको समाधानका लागि तत्काल पहल गर्नुपर्ने माग गरिनेछ ।
स्थानीयवासीहरू लामो समयदेखि धुलो, हिलो र असहज यात्रा गर्न बाध्य छन्। निर्माणाधीन सडकको अवस्था जस्ताको तस्तै रहँदा जनस्वास्थ्य, यातायात र आर्थिक गतिविधिमा प्रतिकूल असर परेको छ। संघर्ष समितिले चेतावनी दिएको छ कि यदि मागहरू चाँडै सम्बोधन नभएमा थप संघर्षका कार्यक्रमहरू अघि बढाइनेछ ।
हामीले यो ठाउँमा सडक निर्माणका लागि पटक पटक ठेक्का आह्वान गरेका छौं तर आर्थिक अभावका कारण ठेक्का लाग्न नसकेको हुलाकी राजमार्ग कार्यालय नेपालगंजका आयोजना प्रमुख लीला बहादुर भण्डारीले बताए । राजपुरको गंगदीदेखि दाङको अन्तिम गाउँ हाडबास सम्म २० किलोमिटर सडकको प्रारम्भिक वातावरणिय परिक्षणको काम सबै सकिएको छ । यदि उक्त ठाउँका लागि बहु वर्षीय स्रोत सुनिश्चितता भएमा दुई वर्षमा काम सकिन्छ’- योजना प्रमुख इञ्जिनिएर भण्डारीले भने ।
